भ्रामक समाचारप्रति एमाले लुम्बिनी प्रदेशको ध्यानाकर्षण
दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचन उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा नेकपा एमालेका शीर्ष नेताहरूको नाम जोडेर प्रकाशित समाचारप्रति एमाले लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यले रुपन्देही क्षेत्र नम्बर २ लाई लिएर पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलको नाम जोडेर प्रकाशित समाचारहरू तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेका छन् । यस्ता समाचारबाट भ्रममा नपर्न उनले कार्यकर्ता तथा आम नागरिकलाई आग्रह गरेका छन् ।
पार्टीले उम्मेदवार आवश्यकता र सांगठनिक आधारमा तय गर्ने स्पष्ट पार्दै सचिव आचार्यले शीर्ष दुई नेताहरूलाई अनावश्यक विवादमा तान्ने प्रयास बन्द गर्न आग्रह गरे । उनका अनुसार पाल्पा क्षेत्र नम्बर २ बाट आएको मागका आधारमा उपाध्यक्ष पौडेललाई उम्मेदवार बनाउने निर्णय केन्द्रीय कमिटीबाट भइसकेको हो ।
कुनै पक्षले जित्ने–हार्ने विषय उचालेर पार्टीविरोधी गतिविधि सिर्जना नगर्न चेतावनी दिँदै उनले केही सञ्चारमाध्यमले एमालेका शीर्ष नेताहरूलाई लक्षित गरी भ्रामक समाचार प्रकाशन गरेकोप्रति आपत्ति जनाए । विशेषगरी रुपन्देही–२ मा महासचिव पोखरेल पक्षको दबाबका कारण उपाध्यक्ष पौडेलले क्षेत्र छाडेको भन्ने आशयका समाचार निराधार रहेको उनले स्पष्ट पारे ।
प्रदेश कमिटीले निर्वाचनको संवेदनशील घडीमा जिम्मेवार पत्रकारिता अपनाउन र तथ्यपरक सूचना मात्र प्रकाशन गर्न आग्रह गरेको छ ।








