नेकपाले दाङका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो
दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाङका तीनै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पार्टीका अनुसार दाङ क्षेत्र नम्बर १ मा मेटमणि चौधरी, क्षेत्र नम्बर २ मा निर्मल आचार्य र क्षेत्र नम्बर ३ मा धनबहादुर मास्कीलाई उम्मेदवार बनाइएको हो ।
दाङ–१ बाट उम्मेदवार बनेका चौधरी निरन्तर चुनाव जित्दै आएका नेता हुन् । उनले २०७४ सालको निर्वाचनमा बाम गठबन्धनको समर्थनमा नेकपा एमालेबाट विजयी भएका थिए भने २०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनको बलमा नेकपा एकीकृत समाजवादीको तर्फबाट जीत हासिल गरेका थिए ।
दाङ–२ बाट उम्मेदवार बनेका आचार्य २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका थिए ।
दाङ–३ का उम्मेदवार मास्की हाल लुम्बिनी प्रदेश सभाका सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री हुन् । उनले २०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादी केन्द्र–नेकपा एसको गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रको तर्फबाट दाङ क्षेत्र नम्बर ३ (२) बाट विजयी भएका थिए । नेकपाले दाङका तीनै निर्वाचन क्षेत्रमा अनुभवी र संगठनात्मक रूपमा मजबुत उम्मेदवार अघि सारिएको जनाएको छ।








