उम्मेदवारी दर्तामा लागि अध्यक्ष ओली झापा जाँदै
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्न गएका अध्यक्ष ओलीले यस अवसरलाई झापाका पाँचै निर्वाचन क्षेत्रको समग्र तयारी मूल्याङ्कन गर्ने ‘राजनीतिक ब्रिफिङ’का रूपमा प्रयोग गर्ने एमालेले जनाएको छ ।
अध्यक्ष ओली बिहान १०:२५ बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । अवतरणलगत्तै उहाँले झापा क्षेत्र नं. १ र ३ का नेताकार्यकर्तासँग भद्रपुरमै छोटो छलफल गर्दै निर्वाचनको पछिल्लो अवस्था, संगठनात्मक तयारी र स्थानीय मुद्दाबारे जानकारी लिनेछन् ।
पार्टीका केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार झापा क्षेत्र नं. २ को तयारीबारे अध्यक्ष ओलीले विर्तामोडमा ब्रिफिङ लिने कार्यक्रम तय भएको छ । यस्तै, क्षेत्र नं. ४ को निर्वाचन रणनीति र व्यवस्थापनबारे सुरुंगामा नेताकार्यकर्तासँग छलफल हुनेछ ।
आफ्नै निर्वाचन क्षेत्र झापा ५ मा भने अध्यक्ष ओलीले दमकमा व्यापक भेटघाट गर्ने कार्यक्रम छ । स्थानीय संगठन, जनप्रतिनिधि र कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै चुनावी रणनीति थप स्पष्ट पारिने एमालेको भनाइ छ ।
यसैक्रममा अध्यक्ष ओलीले हालै ‘जेन जी आन्दोलन’का क्रममा क्षतिग्रस्त बनेको दमकस्थित आफ्नै निवास पनि अवलोकन गर्ने तयारी रहेको पार्टीले जनाएको छ ।
एमालेका अनुसार यो भ्रमण केवल उम्मेदवारी प्रक्रियामा सीमित नरही, झापामा पार्टीको समग्र चुनावी अभियानलाई एकीकृत दिशानिर्देश दिने उद्देश्यका साथ तय गरिएको हो ।








