५ माघ २०८२, सोमबार

निर्वाचनबाट माओवादी ‘यूटर्न’ : प्रमुख नेताहरु चुनाव नलड्ने निर्णय

प्रकाशित मिति :  19 January, 2026 9:34 am


दाङ । नेकपा (माओवादी) ले प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित रणनीतिक मोड लिएको छ । पहिलोपटक औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको पार्टीले स्थायी कमिटीका सबै सदस्यलाई निर्वाचनबाट अलग राख्ने निर्णय गर्दै संगठनात्मक परीक्षण र तल्लो तहका नेताहरूलाई अवसर दिने नीति अघि सारेको छ ।

गएराति बसेको स्थायी कमिटी बैठकले महासचिव विप्लवसहित शीर्ष तहका नेताहरू उम्मेदवार नबन्ने निर्णय गरेको हो । मनोनयनको दुई दिनअघि आएको यो निर्णयले पार्टीभित्र ‘नेतृत्वभन्दा संगठन’लाई प्राथमिकतामा राख्ने सन्देश दिएको विश्लेषण भइरहेको छ ।

निर्वाचन आयोगमा दर्ता भई गुलाफ चिन्ह प्राप्त गरेको पार्टीले समानुपातिकतर्फको बन्द सूची बुझाइसकेको भए पनि प्रत्यक्षतर्फ शीर्ष नेताहरूलाई मैदानमा नउतार्नु राजनीतिक रूपमा फरक अभ्यास मानिएको छ । यसअघि महासचिव विप्लव रोल्पाबाट उम्मेदवारी दिने तयारीमा रहेको चर्चा चलेको थियो ।

पार्टी स्रोतका अनुसार स्थायी कमिटीको निर्णयले पोलिटब्युरो सदस्यदेखि तलका नेताहरूलाई उम्मेदवार बनाउने बाटो खुला गरेको छ । यसले लामो समय भूमिगत राजनीतिमा सक्रिय कार्यकर्ताहरूको जनआधार कति बलियो छ भन्ने ‘ग्राउन्ड टेस्ट’ गर्ने उद्देश्य झल्काउँछ ।

स्थायी कमिटीको निर्णयपछि थप रणनीति तय गर्न पोलिटब्युरो बैठक बस्ने तयारी छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो निर्णयले पार्टीको चुनावी प्रदर्शन मात्र होइन, भविष्यको नेतृत्व निर्माणमा समेत कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।



प्रतिक्रिया दिनुहोस !