रोल्पामा वर्षमानलाई टक्कर दिन कांग्रेसले अर्थविद् डा. सुदनकुमार वलीलाई मैदानमा उतार्यो
दाङ । तत्कालीन माओवादीको बलियो आधार क्षेत्र मानिने रोल्पामा नेपाली कांग्रेसले यसपटक रणनीतिक पुस्तान्तरणको बाटो रोजेको छ ।
फागुन २१ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले ३३ वर्षीय अर्थमामिलाका जानकार डा. सुदनकुमार वलीलाई उम्मेदवार बनाउँदै नयाँ राजनीतिक सन्देश दिएको हो ।
रोल्पा लामो समयदेखि वामपन्थी राजनीतिका गढमध्ये एक रहँदै आएको छ । यही क्षेत्रमा २०७४ यता निरन्तर जित हासिल गर्दै आएका वर्षमान पुन (माओवादी केन्द्र) लाई चुनौती दिन कांग्रेसले यसपटक अनुभवभन्दा फरक, विषयगत विज्ञतालाई अघि सारेको देखिन्छ ।
‘विचारको टक्कर’ बनाउने कांग्रेसको प्रयास
कांग्रेसका अनुसार यो चुनाव केवल व्यक्ति प्रतिस्पर्धा मात्र नभई आर्थिक दृष्टिकोण र विकास मोडेलको टक्कर पनि हो । लुम्बिनी प्रदेश योजना आयोगका सदस्य रहेका वलीले अर्थतन्त्र, योजना र विकासका विषयमा काम गरिसकेका छन् । टिकट पाएसँगै उनले आयोग सदस्य पदबाट राजीनामा दिई उम्मेदवारी दर्ताका लागि रोल्पा प्रस्थान गरेका छन् ।
कांग्रेस नेता मनोजमणि आचार्यका अनुसार पार्टीले यसपटक स्थापित अनुहारभन्दा फरक, भविष्यको नेतृत्व प्रस्तुत गर्न चाहेको हो ।
यद्यपि रोल्पाबाट लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, ज्ञानबहादुर वली र डा. मन्दिप सुवेदीसहितका नाम सिफारिस भएका थिए, अन्ततः पार्टी नेतृत्वको छनोट वलीमा केन्द्रित भयो ।
२०७९ को समीकरण बदलिँदै
२०७९ को आम निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच चुनावी तालमेल थियो । सोही कारण रोल्पामा प्रत्यक्ष प्रतिस्पर्धा हुन सकेको थिएन ।
त्यस निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले ४१ हजार ७ सय १४ मत ल्याएर जित हात पारेका थिए भने एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गरेका थिए ।
समानुपातिकतर्फ पनि माओवादी केन्द्रले कांग्रेसभन्दा दोब्बरभन्दा बढी मत ल्याएको तथ्यांक छ तर यसपटक तालमेलविहीन चुनावमा कांग्रेसले फरक एजेन्डा र नयाँ पुस्ताको नेतृत्वमार्फत मतदाता मन जित्ने दाबी गरेको छ ।
संकेत के हो ?
राजनीतिक विश्लेषकहरूका अनुसार रोल्पामा वलीको उम्मेदवारी कांग्रेसको लामो दूरीको लगानी हो-जहाँ पार्टीले परम्परागत शक्ति सन्तुलन तोड्ने प्रयास गर्दै नीतिगत बहस, अर्थ र विकासको भाषा प्रवेश गराउन खोजेको देखिन्छ ।
रोल्पाको चुनाव परिणाम जे भए पनि, यो निर्वाचनले नेपाली राजनीतिमा पुराना किल्लामाथि नयाँ सोचले कसरी चुनौती दिन्छ भन्ने प्रश्नको उत्तर दिने अपेक्षा गरिएको छ।








