५ माघ २०८२, सोमबार

रुकुम पूर्वको चुनावी भिडन्त : प्रचण्ड सामु एमालेको युवा अनुहार

प्रकाशित मिति :  19 January, 2026 5:59 pm


दाङ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले रुकुम पूर्वमा फरक राजनीतिक सन्देश दिने प्रयास गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध एमालेले केन्द्रीय सदस्य तथा युवा नेता लिलामणि गौतमलाई उम्मेदवारको रूपमा मैदानमा उतारेको हो ।

सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा रुकुम पूर्व पुगेका प्रचण्डलाई टक्कर दिन एमालेले स्थानीय राजनीतिबाट केन्द्रीय तहसम्मको अनुभव बोकेका गौतमलाई अघि सारेको छ ।

यसलाई एमालेले केवल चुनावी प्रतिस्पर्धा मात्र नभई युवा नेतृत्व र वैकल्पिक राजनीतिप्रति विश्वासको संकेतका रूपमा लिएको छ ।

२०७९ को मत परिणाम र वर्तमान समीकरण

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्व क्षेत्रबाट समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रले ८ हजार २ सय ७१ मत प्राप्त गरेको थियो ।

नेपाली कांग्रेसले ५ हजार ६ सय ९२ मत ल्याउँदा एमालेले ३ हजार ६ सय ५९ मत प्राप्त गरेकाे थियो । अघिल्लो परिणामलाई आधार मान्दा यो क्षेत्र प्रचण्डका लागि अनुकूल देखिए पनि, एमालेले यसपटक नयाँ अनुहार र नयाँ भाषासहित मतदातामा पुग्ने रणनीति लिएको बताइएको छ ।

स्थानीय जरा भएका उम्मेदवार

लिलामणि गौतम सामाजिक सङ्घसंस्थामा सक्रिय रहँदै जिल्लाको माटो, आवश्यकता र जनभावना बुझेका व्यक्ति मानिन्छन् । सबै राजनीतिक धार र नागरिकसँग सहकार्य गर्दै काम गर्ने स्वभावका कारण उनी स्थानीय तहमा परिचित र स्वीकार्य रहेको एमाले नेताहरूको दाबी छ ।

एमालेले रुकुम पूर्वमा युवा उम्मेदवारलाई अगाडि सार्दै पुराना राजनीतिक समीकरण चुनौती दिने र भविष्यको नेतृत्व निर्माण गर्ने स्पष्ट सन्देश दिन खोजेको देखिन्छ । यो प्रतिस्पर्धाले रुकुम पूर्वको चुनावलाई केवल व्यक्ति होइन, दृष्टिकोण र पुस्ताको चुनावका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !