प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारी मनोनयनको दिन
दाङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै किसिमको तडकभडक नगरी शान्त, मर्यादित र व्यवस्थित ढङ्गले निर्वाचन कार्यालय पुग्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।
भीडभाड कम गर्ने र प्रक्रिया सहज बनाउने उद्देश्यले आयोगले प्रमुख दल र उम्मेदवारका लागि छुट्टाछुट्टै समयसमेत तोकेको छ । यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट १ सय १० र प्रत्यक्ष प्रणालीबाट १ सय ६५ सदस्य निर्वाचित हुने व्यवस्था छ ।
भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले निर्वाचन सञ्चालनका लागि आवश्यक साधन–स्रोतको व्यवस्था गरिसकेको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया पनि सुरु भइसकेको आयोगले जनाएको छ ।
राजनीतिक दलतर्फ हेर्दा अधिकांशले उम्मेदवार छनोट गरिसकेका छन् । नेपाली कांग्रेसले केही क्षेत्रमा उम्मेदवार टुंगो लगाउने प्रक्रिया जारी रहेको जनाएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरिसकेको दाबी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवारलाई आधिकारिक पत्रसमेत वितरण गरिसकेका छन् ।
आयोगको कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ । उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा र आयोगले तोकेका अन्य आवश्यक कागजात पनि साथमा ल्याउनुपर्नेछ ।
विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनपछि विघटन भएको पृष्ठभूमिमा नयाँ निर्वाचन हुन लागेको हो । आयोगले सबै तयारी पूरा भएको जनाउँदै आज देशभर उत्साहपूर्ण वातावरणमा उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।








