६ माघ २०८२, मंगलबार

लुम्बिनीबाट एमालेका प्रभावशाली नेताहरू मैदानमा : प्रदेशका २६ निर्वाचन क्षेत्रमा उत्साहपूर्ण उम्मेदवारी दर्ता

प्रकाशित मिति :  20 January, 2026 5:54 pm


दाङ । नेकपा (एमाले) का पार्टीभित्र प्रभावशाली मानिने नेताहरूले लुम्बिनी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देही–२, अर्का उपाध्यक्ष गोकर्ण बिष्टले गुल्मी–२, महासचिव शंकर पोखरेलले दाङ–२ तथा पूर्व उपमहासचिव एवं प्रभावशाली नेता प्रदिप ज्ञवाली ले गुल्मी–१ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यससँगै नेकपा (एमाले) ले लुम्बिनी प्रदेशका अन्य निर्वाचन क्षेत्रहरूमा पनि संगठनात्मक सन्तुलन र क्षेत्रीय प्रतिनिधित्वलाई ध्यानमा राख्दै उम्मेदवार अघि सारेको छ ।

दाङ–१ बाट रेवतीरमन शर्मा र दाङ–३ बाट घनश्याम पाण्डेयले उम्मेदवारी दर्ता गरेका छन् । बाँकेका तीनै निर्वाचन क्षेत्रमध्ये बाँके–१ बाट सूर्य ढकाल, बाँके–२ बाट मोहम्मद इश्तियाक राई र बाँके–३ बाट सुमन मल्लले उम्मेदवारी दर्ता गराएका हुन् ।

बर्दियामा क्षेत्र नम्बर १ बाट शालिकराम अधिकारी र क्षेत्र नम्बर २ बाट विमला बिकले मनोनयन दर्ता गराएका छन् भने रोल्पा–१ बाट गोकुल घर्ती उम्मेदवार बनेका छन् । रुकुम पूर्व–१ बाट लिलामणि गौतम, प्यूठान–१ बाट सूर्यबहादुर थापा र अर्घाखाँची–१ बाट पिताम्बर भुसालले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

पाल्पामा क्षेत्र नम्बर १ बाट नारायण आचार्य र क्षेत्र नम्बर २ बाट ठाकुर गैरे उम्मेदवार बनेका छन् । नवलपरासी पश्चिम–१ बाट रामप्रसाद पाण्डे र सोही क्षेत्रबाट लेखनाथ खरेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देहीमा अन्य क्षेत्रहरूतर्फ रुपन्देही–१ बाट दधिराम न्यौपाने, रुपन्देही–३ बाट बाशु घिमिरे, रुपन्देही–४ बाट प्रमोद यादव र रुपन्देही–५ बाट खिमलाल भट्टराई उम्मेदवार बनेका छन् ।

कपिलवस्तु जिल्लामा क्षेत्र नम्बर १ बाट बिश्राम चौधरी, क्षेत्र नम्बर २ बाट दृघनारायण पाण्डे र क्षेत्र नम्बर ३ बाट बिरेन्द्र कनौडियाले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी नेतृत्वका प्रभावशाली तथा अनुभवी नेताहरूलाई प्रमुख निर्वाचन क्षेत्रमा अघि सार्दै नेकपा (एमाले) ले लुम्बिनी प्रदेशमा बलियो चुनावी उपस्थिति जनाउने रणनीति लिएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !