७ माघ २०८२, बुधबार

फागुन २१ को चुनावी तस्वीर : ३४८४ उम्मेदवार, उमेर समूहअनुसार सहभागिता के कस्तो?

प्रकाशित मिति :  21 January, 2026 7:15 am


दाङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएसँगै निर्वाचनको मैदान संख्या मात्रै होइन, संरचनागत विविधताले पनि रोचक बनेको छ ।

कूल ३४८४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिँदा आज उम्मेदवारविरुद्ध उजुरी दर्ताको चरणमा निर्वाचन प्रक्रिया प्रवेश गरेको छ ।

युवादेखि ज्येष्ठसम्मको प्रतिनिधित्व

निर्वाचन आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका ५३८ उम्मेदवार मैदानमा छन्, जसमा २९४ जना स्वतन्त्र छन् । यो तथ्यले युवापुस्तामा दलभन्दा बाहिर रहेर राजनीति गर्ने चाहना बढ्दै गएको संकेत गर्छ ।

त्यसैगरी, ६६ वर्षभन्दा माथिका २०१ जना उम्मेदवार मध्ये ९४ जना स्वतन्त्र हुनुले ज्येष्ठ पुस्ता पनि औपचारिक दल संरचनाभन्दा बाहिर रहेर सक्रिय राजनीतिमा सहभागी भइरहेकाे देखाउँछ ।

दलहरूको पहुँच : ‘पूर्ण’ र ‘झन्डै पूर्ण’

दलगत उपस्थितिको दृष्टिले हेर्दा, नेकपा एमाले र नेपाली कांग्रेस ले देशका सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर आफ्नो संगठनात्मक शक्ति प्रदर्शन गरेका छन् ।

त्यसपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी ले १६४ क्षेत्रमा उम्मेदवारी दिएका छन् । नेकपाले बाग्लुङ–१ मा जनमोर्चासँग तालमेल गर्दा रास्वपाले मनाङ मा उम्मेदवारी नदिएको आयोगले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ले १६३ क्षेत्रमा उम्मेदवारी दिएर प्रतिस्पर्धालाई थप चर्काएको छ ।

संकेत के छ ?

यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उल्लेखनीय उपस्थिति, युवाको बढ्दो सहभागिता र प्रमुख दलहरूको देशव्यापी पहुँचले राजनीतिक विश्वासको पुनर्संरचना भइरहेको संकेत गर्छ ।

दल–केन्द्रित राजनीतिसँगै व्यक्तिगत पहिचान र मुद्दा–आधारित प्रतिस्पर्धा बलियो बन्दै गएको देखिन्छ-जसले फागुन २१ को मतदानलाई अझ अर्थपूर्ण बनाउनेछ ।



प्रतिक्रिया दिनुहोस !