सुनको मूल्य आकाशिदै : प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ
दाङ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ उचाइ छोएपछि गहना किन्न चाहने उपभोक्तादेखि व्यवसायीसम्म सबैमा चासो र चिन्ता दुवै बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको सिधा असर स्थानीय बजारमा पर्दा आज सुन र चाँदी दुवैले हालसम्मकै रेकर्ड तोडेका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ हजार २ सय रुपैयाँले बढी हो। हिजो सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सीमित थियो ।
चाँदीको मूल्य पनि निरन्तर उकालो लाग्दै आज प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ। एकै दिनमा ३२० रुपैयाँले बढेको चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको छ। हिजो चाँदी ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
बजार विश्लेषकहरूका अनुसार विश्व बजारमा बढ्दो आर्थिक अनिश्चितता, मुद्रास्फीति र सुरक्षित लगानीको खोजीले सुनचाँदीको माग बढाइरहेको छ। यसको असर नेपालजस्तो आयातमा निर्भर बजारमा झनै तीव्र रूपमा देखिन थालेको छ।
मूल्यवृद्धिका कारण विवाह, चाडपर्व र अन्य सामाजिक कार्यक्रममा गहना खरिद गर्ने योजना बनाएका सर्वसाधारण ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् ।
अर्कोतर्फ, व्यवसायीहरू भने कारोबार सुस्ताउने चिन्तामा छन्, यद्यपि लगानीकर्ताहरूका लागि सुनचाँदी अझै सुरक्षित विकल्पका रूपमा देखिएको उनीहरूको बुझाइ छ ।
यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर नआएमा आगामी दिनमा नेपाली बजारमा सुनचाँदी अझै महँगिने सम्भावना रहेको जानकारहरू बताउँछन् ।








