१० माघ २०८२, शनिबार

नयाँ दल आएर मात्रै केही बदलिँदैन : विप्लवको सत्ता–केन्द्रित चेतावनी

प्रकाशित मिति :  24 January, 2026 6:21 pm


दाङ । नेपालको राजनीतिमा चर्किँदै गएको ‘नयाँ दल बनाम पुराना दल’ बहसलाई नेत्रविक्रम चन्द (विप्लव) ले सतही र भ्रामक करार गरेका छन् ।

उनका अनुसार यो बहसले जनताले भोगिरहेको वास्तविक समस्या सत्ताको चरित्र र त्यसको प्रयोगलाई ओझेलमा पार्ने काम मात्रै गरिरहेको छ ।

शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आयोजना गरेको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा महासचिव चन्दले दलको नाम, उमेर वा अनुहार परिवर्तनले मात्र जनताको अवस्था नबदलिने स्पष्ट पारे। उनले भने, समस्या दल ‘पुरानो’ वा ‘नयाँ’ हुनु होइन, समस्या त्यो सत्ताले कसको पक्षमा काम गर्छ भन्ने हो।

उनको तर्कमा जनताले खोजेको परिवर्तन राजनीतिक ब्रान्ड होइन, न्यायपूर्ण निर्णय गर्ने, जनताको सेवा गर्ने र जनउत्तरदायी सत्ता हो। यही मूल प्रश्नलाई छल्न नयाँ–पुराना दलको बहस उछालिएको उनको आरोप छ।

विप्लवले नयाँ दलप्रति देखिएको जनआशालाई पूर्ण रूपमा अस्वीकार भने गरेनन् । पुराना दलका कमजोरी, भ्रष्टाचार र असफलताले नै यस्तो आशा जन्मिएको स्वीकार्दै उनले चेतावनी दिए-पुरानो सत्ता संरचना जस्ताको तस्तै राखेर नयाँ दल ल्याउनु समस्याको समाधान होइन ।

उनले नेतृत्व बहसलाई पनि पुनःपरिभाषित गरे । २५–३० वा ४०–४५ वर्षका नयाँ अनुहार आएपछि सबै ठीक हुन्छ भन्ने सोचलाई उनले यान्त्रिक र भ्रमपूर्ण भने । उमेर र अनुहारभन्दा पनि राजनीतिक दृष्टिकोण, सत्ता बुझाइ र जनताप्रतिको प्रतिबद्धता निर्णायक हुने उनको निष्कर्ष थियो ।

समग्रमा विप्लवको सन्देश स्पष्ट देखिन्छ—नेपालको राजनीतिक संकट दल र नेताको नाममा सीमित छैन। वास्तविक बहस सत्ताको स्वरूप, प्रयोग र त्यसले जनतालाई दिन सक्ने न्याय र सेवा केन्द्रित हुनुपर्छ। नयाँ–पुराना दलको बहसमा अल्झिरहनु, उनका अनुसार, समस्याबाट भाग्ने सजिलो तरिका मात्र हो ।



प्रतिक्रिया दिनुहोस !