११ माघ २०८२, आइतबार

आज राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै

प्रकाशित मिति :  25 January, 2026 6:21 am


दाङ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पद पूर्तिका लागि आज देशभर विशेष राजनीतिक चहलपहल देखिएको छ। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने निर्वाचनका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

यस निर्वाचनको विशेषता भनेको प्रत्यक्ष जनमत नभई प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरू नै निर्णायक मतदाता हुनु हो। प्रदेशसभा सदस्यसँगै नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने व्यवस्थाले संघीय संरचनामा प्रदेश–स्थानीय नेतृत्वको भूमिका कति महत्वपूर्ण छ भन्ने स्पष्ट देखाएको छ।

कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्यतर्फ एक पदमा भने मतदान नै गर्नुपरेन। नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएसँगै बाँकी १७ पदका लागि मात्र आज मतदान भइरहेको छ।

निर्वाचन आयोगले सातै प्रदेशमा छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ। प्रदेश निर्वाचन कार्यालय वा सार्वजनिक शैक्षिक तथा प्रशासनिक परिसरलाई मतदान केन्द्र बनाइएकाले निर्वाचनलाई मर्यादित, सुरक्षित र सहज बनाउने प्रयास गरिएको आयोगको भनाइ छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमार्फत संघीय संसद्को माथिल्लो सदनमा नयाँ प्रतिनिधित्व सुनिश्चित हुँदैछ। प्रदेश र स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूको मतबाट चयन हुने यी सदस्यहरूले आगामी दिनमा संघीय कानुन निर्माण, नीति बहस र राष्ट्रिय सरोकारका विषयमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !