सुन–चाँदीको मूल्यमा उछाल : ताेलाकाे ३ लाख नाै हजार पुग्याे
काठमाडाैँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ उचाइ छोएपछि आम उपभोक्ता मात्र होइन, लगानीकर्ताको ध्यान पनि आकर्षित भएको छ । पछिल्ला केही दिनयता लगातार बढिरहेको सुनको मूल्यले सोमबार ऐतिहासिक कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढ्दै ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।
यसअघि आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार मात्रै सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको देखिएको थियो ।
अझ उल्लेखनीय कुरा के छ भने, शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसको अघिल्लो दिन बिहीबार भने सुनको भाउ २ लाख ९२ हजार २ सय रुपैयाँमा सीमित थियो ।
यसरी छोटो अवधिमै सुनको मूल्यमा आएको तीव्र वृद्धिले अन्तर्राष्ट्रिय बजारको प्रभाव, सुरक्षित लगानीको आकर्षण तथा स्थानीय माग–आपूर्तिको अवस्थालाई झल्काउने विश्लेषकहरू बताउँछन् ।
उता चाँदीको मूल्य पनि सुनसँगै उकालो लागेको छ। सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको भाउ ६ हजार ४ सय ८० रुपैयाँ थियो भने शुक्रबार ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
लगातारको मूल्य वृद्धिले सुनचाँदी बजारमा चहलपहल बढाएको भए पनि, उच्च मूल्यकै कारण सामान्य उपभोक्ताले गहना खरिदमा केही संयम अपनाउन सक्ने अनुमान गरिएको छ । यसबीच, लगानीका रूपमा सुनप्रति आकर्षण भने अझ बढ्ने संकेत देखिएको छ ।








