निर्वाचन सुरक्षामा ‘वार रुम’ सक्रिय : समस्या आए तुरुन्त निर्णय हुने व्यवस्था
काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, सुरक्षित र विवादरहित बनाउन निर्वाचन आयोगले उच्चस्तरीय समन्वय संयन्त्र सक्रिय बनाएको छ ।
निर्वाचन प्रक्रियामा कुनै पनि जटिलता देखिएमा ढिलाइ नगरी तत्काल निर्णय गर्न आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको हो ।
आयोग परिसरमै स्थापना गरिएको यो केन्द्रबाट देशभरका मतदान केन्द्रको अवस्था निरन्तर अनुगमन गरिनेछ । मतदानका क्रममा देखिन सक्ने प्रशासनिक, सुरक्षा वा प्राविधिक समस्या तुरुन्तै समाधान गर्ने उद्देश्यसहित केन्द्र सञ्चालनमा ल्याइएको आयोगले जनाएको छ ।
आइतबार स्थापना गरिएको केन्द्रको शुभारम्भ रामप्रसाद भण्डारीले गरेका हुन् । उनले कुनै निर्वाचन क्षेत्रमा समस्या उत्पन्न भएमा त्यसको समाधानका लागि केन्द्रले ‘तत्काल हस्तक्षेप’ गर्ने जानकारी दिए । मतदान केन्द्रमै समाधान हुन नसक्ने विषय केन्द्रबाटै निर्णय गरी समाधान गरिने उनको भनाइ छ ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्र निर्वाचन आयोग का सचिवको नेतृत्वमा रहनेछ । केन्द्रमा गृह मन्त्रालय का सहसचिवसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ ।
केन्द्रले देशभरबाट आउने सूचनाहरू संकलन गर्ने, तिनको विश्लेषण गर्ने र आवश्यक परे तत्काल निर्णय लिने अधिकार पाएको छ ।
यसलाई निर्वाचन अवधिको ‘कमान्ड सेन्टर’ का रूपमा लिइएको छ, जसले सुरक्षा निकाय र निर्वाचन प्रशासनबीचको समन्वयलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
यस व्यवस्थाले निर्वाचनप्रति जनविश्वास बढ्ने र कुनै पनि अप्रत्याशित अवस्थालाई छिटो नियन्त्रणमा लिन सकिने आयोगको विश्वास छ ।








