पश्चिमी वायुको प्रभाव : पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना, तराईमा तुवाँलो
दाङ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । यस प्रभावका कारण कोशी र मधेस प्रदेशका तराईका केही स्थानहरूमा तुवाँलो लागेको छ भने हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम प्रायः सफा रहेको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । यीमध्ये कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुने सम्भावना छ ।
साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली देखिनेछ ।
सो अवधिमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्छ ।
यसका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र तराईका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङ्ग पर्ने जोखिम पनि रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।








