जलविद्युत आयोजनालाई सहजता : पाँच परियोजनाका लागि वन क्षेत्र प्रयोग अनुमति
दाङ । सरकारले विद्युत् उत्पादन क्षमता विस्तारलाई प्राथमिकतामा राख्दै पाँचवटा जलविद्युत आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । ऊर्जा अभाव न्यूनीकरण र स्वदेशी उत्पादन बढाउने उद्देश्यसहित यो निर्णय लिइएको सरकारको भनाइ छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जलविद्युत आयोजनाका आवश्यक संरचना निर्माण, पहुँच मार्ग र अन्य पूर्वाधार विकासका लागि सीमित वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको हो ।
बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले ऊर्जा विकासलाई सहज बनाउने दिशामा सरकार अघि बढेको स्पष्ट पारे ।
स्वीकृति पाउने आयोजनामा सुतिखोला, तामाकोसी पाँचौँ, माथिल्लो संखुवासभा र सेतीखोला जलविद्युत आयोजना रहेका छन्। यी आयोजनाले निर्माण चरणमा प्रवेश गर्दा आवश्यक पर्ने पूर्वाधारका लागि वन क्षेत्र प्रयोग गर्न पाउने भएका छन्।
सरकारले भने वन क्षेत्र प्रयोग गर्दा वातावरणीय मापदण्ड, क्षतिपूर्ति र वन पुनःस्थापनाको प्रक्रिया अनिवार्य रूपमा पालना गराइने जनाएको छ । ऊर्जा विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्दै अघि बढ्ने सरकारको दाबी छ।
यस निर्णयलाई ऊर्जा क्षेत्रमा लगानी बढाउने र निर्माणाधीन आयोजनाको काम तीव्र बनाउने कदमका रूपमा हेरिएको छ।








