बर्दियामा वन्यजन्तु त्रास : बाघकाे आक्रमणबाट एकै दिन दुई किसानको मृत्यु
दाङ । बर्दियामा एकै दिन दुई जना किसानको ज्यान जाने गरी भएको वन्यजन्तु आक्रमणले जिल्लामा मात्र होइन, आगामी निर्वाचनको एजेन्डामै गहिरो प्रश्न खडा गरेको छ ।
सीमावर्ती र वन आसपास बसोबास गर्ने समुदायको सुरक्षाबारे राजनीतिक दलहरू कति गम्भीर छन् भन्ने विषय पुनः बहसको केन्द्रमा आएको छ ।
बिहीबार बर्दियाका दुई फरक स्थानमा खेतबारी र सामुदायिक वनमा काम गरिरहेका किसानको बाघ र चितुवाको आक्रमणबाट मृत्यु भएपछि स्थानीयस्तरमा त्रास मात्र होइन, आक्रोश पनि चुलिएको छ । स्थानीयवासीका अनुसार यो कुनै एकदिनको दुर्घटना होइन, वर्षौंदेखि बेवास्ता गरिएको मानव–वन्यजन्तु द्वन्द्वको विस्फोट हो ।
मधुवन नगरपालिका–९ की ४९ वर्षिया मैसरा डाँगी आफ्नै खेतबारीमा काम गरिरहेकै बेला जङ्गलबाट निस्किएको पाटेबाघको आक्रमणमा परिन् ।
अर्कातर्फ गुलरिया नगरपालिका–४ का ३५ वर्षिय नन्दु रोकाय सामुदायिक वनमा घाँस काट्न गएका बेला चितुवाको आक्रमणबाट ज्यान गुमाए । दुवै घटना कामकाजकै क्रममा भएकोले ‘जङ्गल जानु जोखिम’ होइन, ‘बाँच्नु नै जोखिम’ बन्दै गएको स्थानीयको गुनासो छ ।
स्थानीय अगुवा र जनप्रतिनिधिहरूले यसलाई केवल वन्यजन्तुको समस्या भनेर टार्न नमिल्ने बताउँछन् । मधुवन–९ का वडाध्यक्ष हर्कबहादुर बस्नेत भन्छन्, “वन्यजन्तु संरक्षणको नाममा जनताको जीवन जोखिममा पार्नु राज्यको नीति हुन सक्दैन । अब यो विषय चुनावी भाषणमा मात्र होइन, ठोस कार्ययोजनासहित घोषणापत्रमै आउनुपर्छ।”
बर्दियाका सीमावर्ती क्षेत्रहरूमा भारततर्फ खुला सीमा, वन क्षेत्रमा आहारको कमी, बस्ती विस्तार र प्रभावकारी घेराबारको अभावले समस्या झन् जटिल बन्दै गएको सरोकारवालाको भनाइ छ । दैनिक जीविकाका लागि घाँस, दाउरा र पशुपालनमा निर्भर समुदाय सबैभन्दा बढी मारमा परेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचन नजिकिँदै गर्दा बर्दियामा देखिएको यो अवस्था दलहरूका लागि ‘चेतावनी घण्टी’ हो । विकास, रोजगारी र समृद्धिका नारा दिने दलहरूले स्थानीयको जीवन सुरक्षालाई प्राथमिकतामा नराखे जनविश्वास गुम्ने खतरा बढ्ने उनीहरूको बुझाइ छ ।
जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयले संयुक्त अध्ययन गरी सुरक्षा उपाय अघि बढाउने बताइरहँदा स्थानीय भने परिणाममुखी कामको प्रतीक्षामा छन् । क्षतिपूर्ति र राहतभन्दा पनि दीर्घकालीन समाधान सुरक्षित घेराबार, निगरानी, वैकल्पिक जीविकोपार्जन र सीमा समन्वय अब टार्न नसकिने आवश्यकता बनेको छ ।
एकै दिन दुई किसानको मृत्युले बर्दियामा प्रश्न उठाएको छ वन्यजन्तु संरक्षण र मानव जीवनबीचको सन्तुलन अब पनि चुनावी नारा मै सीमित रहने कि व्यवहारमा देखिने? आगामी निर्वाचनले यसको उत्तर दिनेछ ।









