१८ बैशाख २०८१, मंगलबार

रोल्पाको जलजला पर्यटन मार्ग अलपत्र,बनेका ठाँउमा पनि मापदण्ड विपरीतका सामाग्री प्रयोग

प्रकाशित मिति :  28 June, 2020 11:59 am


रोल्पा,१४ असार ।

निर्माण व्यवसायीको लापरवाहीका कारण रोल्पाको जलजला पर्यटन मार्ग अलपत्र परेको छ ।   जिल्ला सदरमुकामदेखि पर्यटकीय क्षेत्र जलजला जोड्नका लागि निर्माण सुरु गरिएको उक्त सडक निर्माणको काम सम्झौता अनुसार सकिनुपर्नेमा आधापनि काम भएको छैन ।

जलजला पर्यटन मार्ग निर्माण गर्ने जिम्मा रौताह हरिहर निर्माण सेवाले लिएको थियो । रोल्पा नगरपालिका वडा नं ४ का केही भाग र वडा नं १० का अधिकांश भाग छोएर जाने उक्त सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको रोल्पा– १० का वडाध्यक्ष मानबहादुर खत्रीले जानकारी दिए । पच्चीस किलोमिटर लामो उक्त सडकको अहिलेसम्म पैँतालीस प्रतिशत मात्र काम भएको छ ।

उक्त सडक योजना रौताहा हरिहर निर्माण सेवाले झण्डै २१ करोड रुपैयाँमा बोलकबोल गरेको थियो । सो निर्माण कम्पनीले दोस्रो निर्माण कम्पनीलाई हस्तान्तरण गरेको थियो ।

दोस्रो निर्माण कम्पनीले समेत तेस्रो निर्माण कम्पनीलाई उक्त सडक निर्माणको जिम्मा दिएको थियो । मूल निर्माण सेवासँग पेटीमा काम गर्ने गरी जिम्मा लिएका खटकबहादुर खत्रीले आफूहरुले काम गरेको रकम भुक्तानी नपाउँदा यस्तो समस्या सिर्जना भएको बताए ।

समस्या समाधानका लागि स्थानीय प्रशासनलगायत विभिन्न निकायमा हारगुहार माग्दासमेत न्याय नपाएपछि निर्माणले गति लिन नसकेको खत्रीले स्वीकार गरे ।

‘निर्माण गरिएका संरचना पनि गुणस्तरीय छैनन्’, रोल्पा –१० का मोतीलाल डाँगीले भने । मेसिनरी वालको जग कमसल हुनाका साथै मापदण्ड विपरीत प्रयोग गरिएका निर्माण सामग्रीले ठाउँठाउँमा पहिरो गएको डाँगीको भनाइ छ । निर्माण कम्पनीको लापरवाही र सरकारी निकायको फितलो अनुगमनले यस्तो समस्या आएको डाँगीको आरोप छ ।

आर्थिक वर्ष २०७७/०७८ असोजमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड –१९ का कारण भएको बन्दाबन्दीले चालु आर्थिक वर्षमा काम हुन नसकेको दाबी गरिएको छ । चालु आर्थिक वर्षका लागि प्रस्तावित झण्डै चार करोड रुपैयाँ रकम फ्रीज हुने देखिएको छ ।

कोभिड –१९ को विश्वव्यापी महामारीले निर्माणमा समेत प्रभाव पारेको हुँदा केही समय आयोजनाको म्याद थप गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको रोल्पा–१० का वडाध्यक्ष खत्रीले बताए ।

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त सडक दाङ, धौलावाङ, लिवाङ हुँदै थवाङ जोड्ने जिल्लाको मध्यभागको सडकका रुपमा समेत विकास गर्न सकिने छ । रासस



प्रतिक्रिया दिनुहोस !