२९ माघ २०८२, बिहिबार

कपिलवस्तुमा रास्वपा जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ

प्रकाशित मिति :  12 February, 2026 8:55 am


दाङ । कपिलवस्तु, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन्। प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालबाट अनुसन्धानसँग सम्बन्धित कागजात सार्वजनिक गरेका थिए। उक्त विषयमा उजुरी परेपछि मंगलबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार सामाजिक सञ्जालमार्फत अनुसन्धानाधीन कागजात सार्वजनिक गर्ने, घृणा र द्वेष फैलाउने तथा गोपनीयता भंग गर्ने कार्य गरेको उजुरीका आधारमा भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

‘फेसबुकमा अनुसन्धानसँग सम्बन्धित कागजात सार्वजनिक गर्ने, घृणा फैलाउने र गोपनीयता उल्लङ्घन गर्ने कार्य गरेको उजुरी आएपछि पक्राउ गरेका हौँ,’ डीएसपी सिंहले भने, ‘उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।’ प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !