२९ माघ २०८२, बिहिबार

विनोद चौधरीले सार्वजनिक गरे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’ (प्रतिवद्धता सहित)

प्रकाशित मिति :  12 February, 2026 10:53 am


काठमाडाैँ ।

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भएपछि जारी गरेको ३१ बुँदे घोषणापत्रको कार्यान्वयन अवस्था, प्रगति र उपलब्धिसहितको विवरण उनले सार्वजनिक गरेका हुन्।

जेनजी आन्दोलनपश्चात प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते आम निर्वाचन हुन गइरहेको सन्दर्भमा चौधरीले तीन वर्षअघि गरेका प्रतिबद्धताहरूको सार्वजनिक मूल्यांकन जनतामाझ प्रस्तुत गरेका छन्।

रिपोर्ट कार्ड सार्वजनिक गर्दै उनले लोकतन्त्रमा मतदाताको प्रश्न गर्ने अधिकार नै मूल आधार भएको उल्लेख गरे। आफू जनताको अदालतमा पूर्ण रूपमा जवाफदेही भएर उभिन तयार रहेको उनको भनाइ छ।

उनले भने, “प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो। गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधून् भन्ने चाहन्छु। जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो।”

चौधरीका अनुसार रिपोर्ट कार्डको डिजिटल प्रति सार्वजनिक गरिएको छ। साथै यसको प्रिन्ट कपि उनको सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने सचिवालयले जनाएको छ।

उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोल–टोलमै पुगेर प्रत्यक्ष प्रश्न गर्न आग्रह गरेका छन्। सार्वजनिक प्रतिवेदनमार्फत आफ्नो कामको मूल्यांकन जनताले नै गर्नुपर्ने उनले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !