२९ माघ २०८२, बिहिबार

युवा अर्थनीति सबलीकरणमा बहस : बहुपक्षीय सहकार्य अपरिहार्य

प्रकाशित मिति :  12 February, 2026 9:19 pm


लक्ष्मी पाेखरेल,
देउखुरी । लुम्बिनी प्रदेशमा युवा केन्द्रित अर्थनीति सबलीकरणका लागि प्रदेश सरकार, स्थानीय तह, विश्वविद्यालय र नागरिक समाजबीच समन्वय र सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालय तथा लुम्बिनी प्रदेश योजना आयोगको आयोजना तथा अर्थ, उद्योग तथा पर्यटन समिति (लुम्बिनी प्रदेश सभा), लुम्बिनी प्राविधिक विश्वविद्यालय र सेवा प्रतिष्ठान नेपालको सहकार्यमा आयोजित “नीति निमासा कार्यक्रम” मा सहभागी वक्ताहरूले युवा केन्द्रित अर्थनीति निर्माणमा बहुपक्षीय संवाद आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले युवाको सीप, नवप्रवर्तन र प्रविधिमैत्री सोचलाई राज्यले प्राथमिकतामा राख्दै उद्योग र पर्यटन क्षेत्रमा अवसर सिर्जना गरिरहेको बताए । उनले प्रदेश सरकार युवालाई स्वदेशमै रोजगारी र उद्यमका अवसर उपलब्ध गराउनेतर्फ प्रतिबद्ध रहेको स्पष्ट पारे ।

विशिष्ट अतिथि युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले युवाको क्षमता विकास, खेलकुद र उद्यमशीलता प्रवर्द्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने धारणा राखे ।

कार्यक्रममा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले युवालाई उत्पादन र उद्यमशीलतासँग जोड्न सकिए मात्र प्रदेशको अर्थतन्त्र दिगो बन्ने धारणा व्यक्त गरे । उनले नीति निर्माण तहमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सुशासन तथा योजना विज्ञ डा. नकुल केसीले सुशासन, पारदर्शिता र दीर्घकालीन योजना विना युवा सबलीकरण सम्भव नहुने बताए ।

अर्थशास्त्री निशान्त खनालले प्रदेशको आर्थिक सम्भावनालाई पहिचान गर्दै स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुल सचिव एकबहादुर भण्डारीले विश्वविद्यालय र उद्योग क्षेत्रबीच सहकार्य बढाएर अनुसन्धान र नवप्रवर्तनलाई बजारसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।

त्यसैगरी दाङ जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष प्रविणकुमार भण्डारीसहित निजी क्षेत्रका प्रतिनिधिहरूले नीति निर्माणमा निजी क्षेत्रको सुझाव समेटिनुपर्ने र युवा उद्यमीलाई सहुलियतपूर्ण वातावरण उपलब्ध गराउनुपर्ने धारणा राखे ।

कार्यक्रमका सहभागीहरूले युवा केन्द्रित अर्थनीति निर्माणमा सरकार, शैक्षिक संस्था, निजी क्षेत्र र नागरिक समाजबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

युवाको सीप विकास, लगानीमैत्री वातावरण, नवप्रवर्तन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिइएको थियो । आयोजकका अनुसार कार्यक्रमले लुम्बिनी प्रदेशमा युवा अर्थनीति सबलीकरणको बहसलाई थप गति दिएको छ ।



प्रतिक्रिया दिनुहोस !