३ फाल्गुन २०८२, आइतबार

दाङमा महाशिवरात्रीको अवसरमा धारपानी मेलामा भक्तजनको घुइँचो

प्रकाशित मिति :  15 February, 2026 7:35 am


दाङ । दाङको धारपानीमा आज आइतबार महाशिवरात्रीको अवसरमा मेला लागेको छ। बिहानैदेखि मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।

मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन १६ वटा उपसमिति गठन गरिएको छ भने सुरक्षाकर्मीबाहेक ३ सय ५१ जना स्वयंसेवक परिचालन गरिएको छ। बिहान ९ बजेर ३७ मिनेटदेखि साढे १० बजेसम्म शिवपूजन तथा त्रिशूल सलामी कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ।

समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा मेलामा आउन सहज होस् भनेर बाटोका खाल्डाखुल्डी पुरिएको र घोराहीदेखि धारपानीसम्मको सार्वजनिक सवारी भाडादर निर्धारण गरिएको जानकारी दिइयो। निर्धारण अनुसार बसको एकतर्फी भाडा ७५ रुपैयाँ र अटोको १०० रुपैयाँ तोकिएको छ।

मेलालाई शान्तिपूर्ण बनाउन समितिले तोकेको सीमाभित्र मदिरा तथा लागुपदार्थ बिक्री वितरण र सेवन पूर्ण रूपमा निषेध गरिएको छ ।

फागुन २ गतेदेखि ४ गतेसम्म मन्दिरको पूर्वतर्फ रङघरा, उत्तरतर्फ बबई नदी, दक्षिणतर्फ पाण्डवेश्वर धार्मिक वन र पश्चिमतर्फ घोराही–धारपानी पर्यटन मार्गको कालोपत्रे भागसम्म मदिरा तथा लागुपदार्थ निषेध गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए।

यस्तै, सवारीसाधनले अस्तव्यस्तता नहोस् भन्ने उद्देश्यले सशुल्क पार्किङको व्यवस्था गरिएको छ। पार्किङ शुल्क अनुसार ठूला बस र ट्रकको प्रतिपटक ८० रुपैयाँ, मिनीबस र साना ट्रकको ५० रुपैयाँ, कार तथा जिपको ३० रुपैयाँ, ठूला ट्र्याक्टर र अटोको २० रुपैयाँ, पावर टिलरको ४० रुपैयाँ तथा मोटरसाइकलको १० रुपैयाँ निर्धारण गरिएको समितिका सचिव तथा प्रचारप्रसार उपसमिति संयोजक विष्णुराम आचार्यले जानकारी दिए ।

यसैबीच, महाशिवरात्री मेलाको अवसरमा धारपानीमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन हुने भएको छ। घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाको आयोजना, स्वास्थ्य कार्यालय दाङ र गोरखा अस्पताल लगायत विभिन्न संघसंस्थाको समन्वयमा नसर्ने रोगको स्क्रिनिङ शिविर सञ्चालन गरिने भएको हो।

शिविरमा प्राथमिक उपचार, मनोसामाजिक परामर्श, उच्च रक्तचाप, मधुमेह (सुगर), मृगौला, उचाइअनुसार तौल जाँच लगायतका परीक्षण, परामर्श तथा प्रेस्क्रिप्सन सेवा उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिए । करिब २० जना स्वास्थ्यकर्मी सहभागी रहने शिविरमा सबै भक्तजनलाई सहभागी हुन आग्रह गरिएको छ।



प्रतिक्रिया दिनुहोस !