३ फाल्गुन २०८२, आइतबार

चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारी : मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  15 February, 2026 7:40 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्व २०८२ का अवसरमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भावलाई समाजको पहिचानका रूपमा अझ सुदृढ बनाउन आह्वान गरेका छन् । उनले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको आधार तयार गर्न सकिने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, शान्ति, प्रगति र समृद्धिको कामना व्यक्त गर्दै महाशिवरात्रिको शुभकामना दिएका छन् ।

भगवान शिवको आराधनासँग जोडिएको यस पर्वले आत्मसंयम, सकारात्मक चिन्तन र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास उनले व्यक्त गरे ।

उनका अनुसार लुम्बिनी प्रदेश सबै धर्म, संस्कृति र आस्थाप्रति समान सम्मान र समभाव राख्ने प्रदेश हो । प्रदेश सरकारले धार्मिक सहिष्णुता र सहअस्तित्वको मूल्यलाई संस्थागत गर्दै विभिन्न धर्मसँग सम्बन्धित मठ, मन्दिर, विहार तथा तीर्थस्थलहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

धार्मिक आस्थालाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आकर्षित गर्ने नीति प्रदेशको दीगो समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उनको भनाइ छ।

मुख्यमन्त्री आचार्यले प्रदेशका धार्मिक तथा सांस्कृतिक सम्पदालाई आपसमा जोड्ने ‘पर्यटन सर्किट’ विकास गर्ने योजना अघि बढाइएको जानकारी दिए । यसले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको चलायमानता र प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। धार्मिक पर्यटन संस्कृति संरक्षणसँगै समृद्धिको ढोका खोल्ने प्रभावकारी माध्यम बन्न सक्ने उनको धारणा छ।

आधुनिकताको प्रभावसँगै चाडपर्व मनाउने शैली परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले आधुनिकताको नाममा हुने विकृति र विसंगतिलाई निरुत्साहित गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

नेपाली संस्कृति, परम्परा र चाडपर्वले आपसी एकता, सद्भाव र पहिचानलाई बलियो बनाउँदै आएको उल्लेख गर्दै तिनको मौलिकता जोगाउँदै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस !