नेपालको निर्वाचन परिणाम पनि बंगलादेशको जस्तै हुन्छ- अध्यक्ष ओली
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापाबाट दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहसको संकेत दिएको छ ।
भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बंगलादेशको निर्वाचनमा निर्वाचित दललाई बधाई दिँदै नेपालमा पनि त्यस्तै परिणाम आउने प्रतिक्रिया दिए ।
बंगलादेशको उदाहरण प्रस्तुत गर्दै उनले आन्दोलनबाट आएको शक्तिभन्दा संगठित र स्थापित दलहरू नै अन्ततः मतपेटिकामा बलियो हुने संकेत गरेका छन् । यसलाई एमालेको चुनावी आत्मविश्वास र रणनीतिक सन्देशका रूपमा विश्लेषण गर्न थालिएको छ ।
तर अध्यक्ष ओलीको अर्को अभिव्यक्ति-“चुनाव हुने भयो भने भाग लिन्छौं, चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि”—ले राजनीतिक वृत्तमा थप चासो पैदा गरेको छ । यसले देशको वर्तमान राजनीतिक अवस्था र चुनावी सुनिश्चितताबारे प्रश्न उठाएको छ ।
कतिपयले यसलाई सत्ता समीकरण र चुनावी तालिकाबारे सावधानीपूर्ण टिप्पणीका रूपमा बुझेका छन् भने केहीले राजनीतिक दबाब सिर्जना गर्ने संकेतका रूपमा व्याख्या गरेका छन् ।
अध्यक्ष ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी अभियानमा सहभागी हुन गृह जिल्ला पुगेका हुन्। उनले निर्वाचन क्षेत्रका अधिकांश मतदातासँग प्रत्यक्ष भेटघाट गर्न टोलटोल पुग्ने बताएका छन् ।
राष्ट्रिय स्तरमा बंगलादेशको उदाहरण प्रस्तुत गर्दै चुनावी सन्देश दिनु र स्थानीय स्तरमा मतदातासँग सीधा संवाद बढाउनु-यी दुवै रणनीति सँगसँगै अघि बढाइरहेको देखिन्छ । यसले एमाले आगामी चुनावलाई लक्षित गर्दै संगठन र जनसम्पर्क दुवै पक्ष मजबुत पार्न सक्रिय रहेको संकेत दिएको छ ।








