परिणामको राजनीतिमा जोड : गगन थापाको सन्देश-जोशसँगै होस, स्थायित्वसँगै सुशासन
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनावी भाषणलाई भावनात्मक नाराभन्दा परिणाममुखी प्रतिवद्धतामा केन्द्रित गरेका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ मा मतदातासँगको भेटघाटका क्रममा उनले देशलाई टकरावबाट होइन, जिम्मेवारीबोध र सुशासनमार्फत सम्हाल्ने समय आएको बताएका हुन् ।
उनले विगतका राजनीतिक उथलपुथलतर्फ संकेत गर्दै अब राज्यका संरचना नजल्ने र हिंसात्मक घटना नदोहोरिने वातावरण निर्माण गर्नु राजनीतिक दलहरूको पहिलो दायित्व भएको स्पष्ट पारे ।
जनतामा बढ्दो असन्तोषको कारण कुशासन भएको उल्लेख गर्दै उनले सुधारका ठोस कदम चाल्न ढिलाइ गर्न नहुने बताए । सभापति थापाले आगामी पाँच वर्षलाई ‘परीक्षणको कालखण्ड’ को रूपमा चित्रण गर्दै जनअपेक्षा पूरा गर्न नसकिए राजनीतिक प्रणालीप्रति नै प्रश्न उठ्ने चेतावनी दिए । युवालाई रोजगारी, सर्वसुलभ स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नसकिए उपलब्ध अवसरहरू गुम्ने उनको भनाइ थियो ।
उनले जोशसँगै होस र उत्साहसँगै अनुभव आवश्यक रहेको धारणा राख्दै राजनीतिक स्थायित्वका लागि सबै दललाई साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए । परिणाम दिन नसक्ने राजनीतिले विश्वास गुमाउने उल्लेख गर्दै उनले अब कामबाटै विश्वास जित्ने समय आएको बताए ।
सर्लाही–४ का मतदातासँग संवाद गर्दै थापाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए । उनका अनुसार अब चुनावी भाषणभन्दा कार्यसम्पादनले मूल्यांकन हुने युग सुरु भइसकेको छ ।








