निर्वाचन आउन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार-प्रसार गर्न पाइने
काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक प्रचार–प्रसार खुला भएको छ । तर प्रचार खुला भएसँगै नियमन पनि कडा भएको छ ।
मतदान हुनुभन्दा १५ दिनअघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत चुनावी सामग्री प्रकाशन–प्रसारण गर्न पाइने व्यवस्थाअनुसार आजबाट फागुन १८ गते राति १२ बजेसम्म उम्मेदवारहरू मतदातामाझ सक्रिय हुन पाउनेछन् ।
निर्वाचन आयोगले भने प्रचारको स्वतन्त्रताभन्दा बढी आचारसंहिताको पालना प्राथमिकता हुनुपर्ने सन्देश दिएको छ । दल र उम्मेदवारलाई लक्षित गर्दै आयोगले अनुगमन संयन्त्र सक्रिय पारिसकेको जनाएको छ ।
आचारसंहिता उल्लङ्घनका घटनामा ‘शून्य सहनशीलता’ अपनाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्पष्ट पारेका छन् ।
उल्लङ्घन पुष्टि भएमा स्पष्टीकरण सोध्ने, सचेत गराउने, दण्डजरिवाना गर्ने र गम्भीर अवस्थामा उम्मेदवारी खारेजीसम्मको कानुनी व्यवस्था रहेको आयोगको चेतावनी छ ।
यसपटक आयोगले विशेष रूपमा सामाजिक सञ्जाल र अनलाइन माध्यममा हुने मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिप्रति कडा दृष्टि राखेको जनाएको छ । संगठित रूपमा राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले गलत सूचना फैलाए कानुनी कारबाही गरिने स्पष्ट पारिएको छ ।
प्रचारका लागि आमसभा वा कोणसभा गर्दा मञ्च निर्माण तथा व्यवस्थापनमा लागेको खर्चको विवरण अनिवार्य रूपमा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान पनि लागू हुनेछ । साथै, तोकिएको मापदण्डभित्र रहेर पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापन गर्न पाइनेछ ।
आयोगका अनुसार, आचारसंहिता व्यापक परामर्शपछि तयार गरिएको हो र सबै दलले यसको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइसकेका छन् । अबको १५ दिन उम्मेदवारका लागि मत माग्ने अवसर मात्र नभई आचारसंहिताको कसौटीमा उत्रिने परीक्षा पनि हुने देखिएको छ ।








