२५ बैशाख २०८१, मंगलबार

आफूलाई पदबाट हटाउन भारत सकृय रहेको प्रधानमन्त्री ओलीको दाबी, केही नेता समेत लागेको आरोप

प्रकाशित मिति :  28 June, 2020 3:40 pm


काठमाडौं,१५असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्शा जारी गरेकै कारण आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको दाबी गरेका छन् ।

लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको र त्यस खेलमा नेपालका नेताहरू पनि लागेको प्रधानमन्त्री ओलीको आरोप छ ।

मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आज बालुवाटार गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतीय सञ्चार माध्ययमा आएका समाचार, दूतावासका गतिविधिले भित्रभित्र के भइरहेको छ सबै थाहा हुने प्रधानमन्त्री ओलीको भनाई छ ।

उनले भने, ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने समेत दाबी गरे । उनले भने,‘‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन तर यतिबेला म हट्ने हो भने फेरि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन, किनभने बोलेको भोलिपल्ट बर्खास्त हुन्छ।’

आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको समेत प्रधानमन्त्री ओलीले स्मरण गराए । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको भन्दै प्रधानमन्त्री ओलीले भने,‘नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’

तर, नेपालको नक्सा छापेबापत आफूलाई हटाउने सपना पूरा नहुने प्रधानमन्त्री ओलीको भनाई छ । उनले भने,‘नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ । कसैले हतारो नगरे हुन्छ, कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’

आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने समेत प्रधानमन्त्री ओलीको भनाई थियो ।  अहिले गणतन्त्र विरोधीहरुले समेत गणतन्त्रमाथी आक्रमण गरिरहेको टिप्पणी गरे । उनले गणतन्त्रको विरोध गर्न नसक्नेले कहिले राष्ट्रपतिको साडीको त कहिले कार्पेटको कुरा उछाल्ने गरेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !