बहुमतको स्पष्ट लक्ष्यसहित एमालेको घोषणापत्र आज सार्वजनिक
दाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज संघीय निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । अध्यक्ष केपी शर्मा ओली सहित शीर्ष पदाधिकारीले काठमाडौँमा विशेष कार्यक्रमबीच घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका तय भएको छ ।
यसपटक एमालेले घोषणापत्रलाई केवल प्रतिबद्धताको सूची नभई ‘बहुमतको रोडम्याप’ का रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । पार्टीका एक नेताका अनुसार दस्तावेजमा “समृद्ध नेपाल” निर्माणको दीर्घकालीन दृष्टि, सुशासनमार्फत प्रशासनिक सुधार, रोजगारी सिर्जनाको स्पष्ट खाका तथा सामाजिक न्याय सुनिश्चित गर्ने कार्यक्रमहरूलाई केन्द्रीय प्राथमिकतामा राखिएको छ ।
एमालेको विश्लेषणमा पछिल्ला वर्षहरूमा बनेका सत्ता समीकरणले राजनीतिक अस्थिरता बढाएको निष्कर्ष निकालिएको छ । त्यसैले स्थिर सरकार गठनका लागि स्पष्ट जनादेश आवश्यक रहेको दाबी गर्दै पार्टी बहुमतको लक्ष्यसहित निर्वाचनमा होमिएको जनाएको छ ।
घोषणापत्रमार्फत संस्थागत सुधार, आर्थिक पुनरुत्थान र विकास निर्माणलाई तीव्रता दिने योजना सार्वजनिक गरिने जनाइएको छ । विशेषगरी युवामुखी रोजगारी, पूर्वाधार विस्तार, डिजिटल प्रशासन र सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा एमालेले ठोस कार्यक्रम ल्याउने संकेत दिएको छ ।
पार्टी स्रोतका अनुसार घोषणापत्रमा कार्यान्वयनयोग्य समयसीमा र मापनयोग्य लक्ष्यसमेत समावेश गरिनेछ, जसले मतदातामाझ विश्वास निर्माण गर्ने अपेक्षा गरिएको छ।
यस घोषणापत्रमार्फत एमालेले आफूलाई स्थिरता र विकासको विकल्पका रूपमा स्थापित गर्ने रणनीति अघि सारेको देखिन्छ । अब घोषणापत्र सार्वजनिक भएसँगै चुनावी प्रतिस्पर्धा थप तीव्र हुने आकलन गरिएको छ ।








