संरचना मात्र होइन, व्यवहारमा लोकतन्त्र चाहिन्छ : मुख्यमन्त्री आचार्य
दाङ । चेतनारायण आचार्य ले प्रजातन्त्रको रक्षा केवल राजनीतिक संरचनाबाट सम्भव नहुने स्पष्ट गर्दै सुशासन, पारदर्शिता र विधिको शासनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका छन् ।
लुम्बिनी प्रदेश का मुख्यमन्त्री आचार्यले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा जारी शुभकामना सन्देशमार्फत लोकतन्त्रलाई व्यवहारमा उतार्ने चुनौतीतर्फ ध्यानाकर्षण गराएका हुन् ।
उनका अनुसार संविधान र संघीय संरचनाले लोकतन्त्रको रूपरेखा दिएको भए पनि त्यसको सार्थकता जनजीवनमा प्रत्यक्ष अनुभूत हुनुपर्छ ।
सामाजिक न्याय, समान अवसर र आर्थिक रूपान्तरण सुनिश्चित नगरी लोकतन्त्र केवल औपचारिकतामा सीमित हुने उनको धारणा छ ।
वि.सं. २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यसँगै स्थापित प्रजातान्त्रिक आधारलाई स्मरण गर्दै उनले त्यस ऐतिहासिक उपलब्धिले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको उल्लेख गरेका छन् । उक्त आन्दोलनले नेपाली समाजलाई अधिकारप्रति सचेत र परिवर्तनप्रति प्रतिबद्ध बनाएको उनले बताए ।
मुख्यमन्त्री आचार्यले प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न आन्दोलनमा अग्रणी भूमिका खेलेका नेताहरू र लोकतन्त्रप्रेमी नागरिकप्रति सम्मान व्यक्त गरेका छन् ।
उनले लोकतान्त्रिक संस्कार, सहिष्णुता र आपसी सम्मान व्यवहारमा उतार्न नसके प्रजातन्त्रको मूल्य कमजोर हुने चेतावनी पनि दिएका छन् ।
जनताको एकता र साझा संकल्पले मात्र अन्याय, निरंकुशता र विभेदलाई परास्त गर्न सकिने सन्देश राष्ट्रिय प्रजातन्त्र दिवसले निरन्तर दिँदै आएको उनको भनाइ छ ।
आचार्यले दिवसलाई केवल स्मरणको अवसर नभई लोकतान्त्रिक मूल्य–मान्यताप्रति पुनः प्रतिबद्ध हुने अवसरका रूपमा लिन आग्रह गरेका छन् ।








