घर–घरमा समृद्धिको सन्देश पुर्याउन शंकर पोखरेलको आग्रह
दाङ । नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्याउन आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् ।
विजौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विकासका एजेन्डालाई केन्द्रमा राखेर मतदातासमक्ष प्रस्तुत हुन आग्रह गरे ।
सभालाई सम्बोधन गर्दै उनले भने, “दाङको विकास र समृद्धिका लागि शंकर पोखरेल अपरिहार्य छ भन्ने अभियान घर–घरमा पुर्याइदिनुहोस् । अधुरा काम पूरा गर्न र सुरु भएका योजनालाई निष्कर्षमा पु¥याउन सक्षम नेतृत्व आवश्यक छ ।”
पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङमा पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा महत्वपूर्ण काम सुरु भएको दाबी गरे । उनले भने, “मैले नेतृत्व गर्दा दाङको विकासको आधार तयार भएको थियो । सरकारबाट बाहिरिएपछि केही काम रोकिए, अब ती योजनालाई पुनः गति दिन आवश्यक छ ।”
घोराही–तुलसीपुर चारलेन सडक निर्माण आफ्नै पहलमा सुरु भएको भन्दै पोखरेलले विजौरी–दहवन हुँदै शहीद मार्ग विस्तार, मानपुर–जलकुण्डी सडक स्तरोन्नतिलगायतका योजनाहरू मध्य दाङको विकासका लागि अनिवार्य रहेको उनले बताए । “मध्य दाङको समग्र विकासका लागि सडक सञ्जाल मजबुत बनाउनु अपरिहार्य छ”, उनले जोड दिए ।
स्वास्थ्य क्षेत्रको उपलब्धि उल्लेख गर्दै उनले रिफर सेन्टरका रूपमा रहेका दाङका अस्पतालहरूलाई विकास गरेर विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका रुपमा विकाश गरिएको बताए ।
“राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनु दाङका लागि ऐतिहासिक उपलब्धि हो”, उनले भने, “अब प्राविधिक शिक्षा र स्वास्थ्य सेवा दाङमै सुदृढ बनाउनुपर्छ ।”
पोखरेलले नीति निर्माण र बजेट विनियोजनमा प्रभावकारी पहुँच पु¥याउन सक्ने प्रतिनिधि आवश्यक रहेको उल्लेख गरे । “काठमाडौंबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्नसक्ने नेतृत्व दाङले रोज्नुपर्छ,” उनले भने, “समृद्ध दाङ बनाउने लक्ष्यसहित हामी अघि बढेका छौँ ।”
चुनावी सभामा उनले पार्टीका कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अभियान सञ्चालन गर्न आह्वान गर्दै विकास, स्थिरता र समृद्धिको सन्देश मतदातामाझ पु¥याउन आग्रह गरे । कार्यक्रममा स्थानीय नेता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।








