११ फाल्गुन २०८२, सोमबार

त्रिशूली किनारमा बस खस्दा १७ जनाको मृत्यु, २८ जना घाइते

प्रकाशित मिति :  23 February, 2026 6:11 am


काठमाडाैँ । धादिङमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् भने २८ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा नजिक त्रिशूली नदी किनारमा खसेर दुर्घटनामा परेको हो । दुर्घटना बिहानै भएको बताइएको छ।

दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले उद्धार कार्य थालेको थियो। उद्धार टोलीले घटनास्थलबाट १७ जनाको शव फेला पारेको जनाएको छ । मृतकमध्ये ४ महिला र १३ पुरुष रहेका छन्। एक जना विदेशी नागरिक पनि मृत्यु हुनेमध्ये परेका छन्।

घाइते २७ जनालाई घटनास्थलबाट निकालेर उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। अझै एक जना यात्रुलाई बसको फलाम काटेर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी सुमित खड्काले जानकारी दिएका छन् ।

मृतक र घाइतेहरूको सनाखत कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !