जन्मभूमिबाट शंकर पोखरेलको भावुक अपिल–“तपाईंले आश दिनुस्, मैले विश्वास दिन्छु”
दाङ । नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले जनताको आशा र अपेक्षालाई विश्वासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफ्नो जन्मभूमि तुलसीपुर उपमहानगरपालिका–१९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले दाङको समृद्धि र समुन्नत भविष्यका लागि आफूलाई पुनः विजयी गराउन आग्रह गरे ।
वडा कमिटीद्वारा आयोजित सभामा बोल्दै पोखरेलले भावुक स्वरमा भने, “तपाईंहरूले आश दिनुहोस्, म त्यसलाई विश्वासमा बदल्नेछु । जनताको मत मेरा लागि पद प्राप्तिको माध्यम होइन, दायित्व पूरा गर्ने अवसर हो ।”
उनले विगतमा आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरेको उल्लेख गर्दै दाङको सडक पूर्वाधार, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे । उनले अबको लक्ष्य दाङलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर जिल्लाका रूपमा विकास गर्नु रहेको स्पष्ट पारे ।
“दाङलाई केवल प्रशासनिक केन्द्र होइन, आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो योजना छ”, उनले भने । यस क्षेत्रको सिँचाइ सुविधा सुनिश्चित गर्न ग्वार खोला बृहत् जलाशय आयोजना निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिँदै उनले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धिमार्फत् स्थानीय अर्थतन्त्र सुदृढ पार्ने योजना सुनाए ।
पोखरेलले आस्था र विचारभन्दा माथि उठेर विकासका पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गरे । “विकास कुनै दल विशेषको मुद्दा होइन, यो सम्पूर्ण दाङवासीको साझा सपना हो”, उनले जोड दिए ।
यसैबीच तुलसीपुर १६ मा आयोजित वडास्तरिय सभालाई सम्बोधन गर्दै पोखरेलले विकास र समृद्धिको नेतृत्व गर्नसक्ने उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । ज्ञापनपत्र बुझेर विकासका लागि मन्त्रालय धाउने नभई ज्ञापनपत्रलाई कार्यान्वयन गर्ने व्यक्ति आफूलाई विजयी बनाउन आग्रह गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य कोमल वली, नेता भागवत विश्वासीलगायतका वक्ताहरूले पनि मन्तव्य राख्दै पोखरेलको नेतृत्वमा दाङले तीव्र विकासको गति लिने विश्वास व्यक्त गरे । वडा कमिटीका अध्यक्ष लोकबहादुर रोकाको अध्यक्षता तथा महासचिव पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामबहादुर पौडेलले गरेका थिए ।








