१५ फाल्गुन २०८२, शुक्रबार

दाङमा विभिन्न पार्टी छाडेर २६९ जना एमाले प्रवेश : नवपुस्ता देश निर्माणको पक्षमा-महासचिव पोखरेल

प्रकाशित मिति :  27 February, 2026 4:45 pm


दाङ । दाङमा नेकपा (एमाले) प्रवेश गर्नेहरूको संख्या पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ । फागुन २१ नजिकिँदै गर्दा विशेषगरी युवापुस्तामा एमालेप्रति आकर्षण बढेको देखिएको छ ।

शुक्रबार घोराहीमा आयोजित विशेष कार्यक्रममा विवेक बुढा मगरको नेतृत्वमा २ सय ६९ जना युवा तथा महिलाहरू एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टी महासचिव तथा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले २ सय ९ जना युवा र अन्य ६० जना गरी कुल २ सय ६९ जनालाई पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको भविष्य निर्माणमा युवाको भूमिका निर्णायक हुने बताए । उनले भने, “देशको भविष्य निर्माणमा युवाको सक्रिय सहभागिता अपरिहार्य छ । आजका नवयुवा विध्वंस होइन, विकास र समृद्धिको पक्षमा उभिएका छन् ।”

उनले युवाको ऊर्जा सकारात्मक दिशामा प्रयोग हुनुपर्ने उल्लेख गर्दै भने, “आजका युवा देश जलाउने होइन, देश बनाउने अभियानमा जुटेका छन् । राष्ट्रको समृद्धि र स्थायित्वका लागि युवाको शक्ति र सोचलाई सिर्जनात्मक दिशामा अघि बढाउनुपर्छ ।”

पोखरेलले वर्तमान निर्वाचनलाई मुलुकको समृद्धि चाहने शक्ति र अस्थिरता निम्त्याउने प्रवृत्तिबीचको वैचारिक संघर्षका रूपमा चित्रण गरे । उनका शब्दमा, “यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र होइन, देशलाई सही दिशामा लैजाने र अस्थिरता निम्त्याउने शक्तिबीचको निर्णायक संघर्ष हो ।”

उनले आगामी फागुन २१ गते हुने निर्वाचन निर्णायक हुने दाबी गर्दै भने, “जनताको विश्वास र समर्थन निरन्तर बढिरहेको छ । विकास, सुशासन र स्थायित्वप्रतिको हाम्रो प्रतिबद्धताले एमालेप्रति जनलहर सिर्जना भएको छ । आगामी निर्वाचनपछि एमाले देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्नेछ ।”

पोखरेलले आर्थिक विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सुशासन स्थापना पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै युवालाई नवीन सोच, सीप र प्रविधिमार्फत राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरे । उनले भने, “युवा राष्ट्र निर्माणका मुख्य आधारशक्ति हुन् । नवीन सोच, सीप र प्रविधिको प्रयोगमार्फत देशको विकासमा अग्रसर हुन म सबै युवालाई आह्वान गर्दछु ।”

कार्यक्रममा पार्टी प्रवेश गरेका युवाहरूले पनि देशको विकास र स्थायित्वका लागि सक्रिय राजनीतिमा सहभागी भएको बताएका छन् । सहभागी युवाहरूका अनुसार वर्तमान पुस्ताले अवसर, रोजगारी र सुशासनको अपेक्षा गरेको छ र त्यसका लागि आफूहरूले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

जेन–जीका प्रतिनिधि युवाहरूले डिजिटल प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको माध्यमबाट राष्ट्र निर्माणमा योगदान दिन चाहेको धारणा व्यक्त गरेका छन् । विवेक बुढा मगरले भने, “हामी परिवर्तन चाहन्छौँ, तर त्यो सकारात्मक परिवर्तन हुनुपर्छ । रोजगारी, शिक्षा र अवसरका क्षेत्रमा सुधारका लागि हामी सक्रिय हुन चाहन्छौँ ।”

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, पार्टी कार्यकर्ता तथा युवा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले युवा पुस्ताको राजनीतिक चेतना बढ्दै गएको र उनीहरू राष्ट्र निर्माणको अभियानमा सहभागी हुन इच्छुक रहेको उल्लेख गर्दै स्पष्ट विकास योजना र पारदर्शी शासनको आवश्यकता औँल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !