पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाइ : निर्वाचन सामान्य होइन, स्वाधीनताको जनमत संग्रह
कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रतिनिधि सभा निर्वाचन विशिष्ट परिस्थितिमा भइरहेको भन्दै यसलाई सामान्य रूपमा लिन नहुने बताएका छन् ।
शनिबार कपिलवस्तुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको निर्वाचन कुनै एक उम्मेदवारलाई जिताउने वा अर्कोलाई हराउने सामान्य प्रक्रिया मात्र नभएको स्पष्ट पारे ।
उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारसँग जोडिएको विषय भएकाले यो निर्वाचन विशेष महत्वको भएको हो ।
सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “अहिले यो निर्वाचन हामी विशिष्ट परिस्थितिमा अघि बढेको हुनाले यो कुनै एउटा उम्मेदवारलाई विजयी गराउने वा अर्कोलाई पराजित गर्ने सामान्य निर्वाचन मात्रै होइन । यो राष्ट्रको स्वाधीनताको रक्षा गर्ने र नेपाली जनताको आत्मनिर्णयको रक्षा गर्ने ठूलो जनमत संग्रहजस्तो भएको छ ।”
उनले जनतालाई सचेत, जिम्मेवार र राष्ट्रहितलाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गरे । साथै, लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको संरक्षणका लागि पनि यो निर्वाचन निर्णायक सावित हुने दाबी गरे । कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।








