निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई थप निर्देशन दिएको छ ।
आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणको कडाइका साथ परिपालना सुनिश्चित गर्न निर्देशन जारी गरेको हो ।
यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक–फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष आचरण पालना गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आफ्नो जिल्लाभित्र सूक्ष्म अनुगमन गर्न आयोगले सम्बन्धित अधिकृतहरूलाई निर्देशन दिएको छ ।
आयोगले प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम गर्न नहुने कार्य नगर्न र नगराउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आग्रह गरेको छ ।
साथै निर्वाचन आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका गतिविधि भएमा सोही ऐनअनुसार जिल्ला आचारसंहिता अनुगमन समितिको सहकार्यमा कडाइका साथ कारबाही प्रक्रिया अघि बढाइने आयोगले स्पष्ट पारेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ ।








