आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै : झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन
काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदै छ ।
निर्वाचन आयोगका अनुसार नेपालका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान सञ्चालन हुनेछ ।
यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ अन्तर्गत प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रका लागि मतदान हुनेछ भने समानुपातिकतर्फ ११० स्थानका लागि दलहरू प्रतिस्पर्धामा छन् ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल सहभागी भएका छन् । प्रत्यक्ष प्रणालीतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने एक हजार ३६३ पुरुष र एक हजार १ हजार ७७२ महिला गरी कुल तीन हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । यसबाहेक एक लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि कायम गरिएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। साथै, १४३ अस्थायी मतदानस्थल पनि तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि विशेष प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
साथै राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना तथा निर्वाचन प्रहरी एक लाख ४९ हजार ९० जना खटाइएको छ। निर्वाचन प्रक्रिया सञ्चालन गर्न देशभर करिब दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकेको जनाएको छ। यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन्।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले मतदातालाई उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले पनि निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन नागरिकलाई आग्रह गरेका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो लोकतान्त्रिक अनुष्ठान भएको बताएका छन् ।
निर्वाचनको सन्दर्भमा जारी अपिलमा उनले प्रत्येक मतदाताले खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप, शासन, सरकार, नीति तथा नेतृत्व कस्तो हुने भन्ने निर्धारण गर्ने भएकाले निर्वाचन अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।
उनले यस्तो महत्त्वपूर्ण लोकतान्त्रिक प्रक्रियामा सहभागी भएर मतदाताले आफ्नो अधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिँदै निर्वाचनमा सहभागी हुनु प्रत्येक सार्वभौम अधिकार सम्पन्न नागरिकको कर्तव्यसमेत भएको बताएका छन् ।








