झापा नपुगी काठमाडौँ फर्किए बालेन : यस्ताे छ कारण
काठमाडाैँ । काठमाडौँमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा पुग्न नपाई काठमाडौँ फर्किएका छन् । हेलिकप्टरमार्फत झापा जान लागेका शाहको यात्रा बीचमै रोकिँदा यसको कारणबारे विभिन्न अनुमानहरू गरिएको छ।
हेली एभरेस्टको नाइन एन–एओबी उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहान ९ः१२ बजे काठमाडौँबाट झापाका लागि प्रस्थान गरेको थियो। तर करिब आधा घण्टाको उडानपछि हेलिकप्टर झापा नगई काठमाडौं नै फर्किएको विमानस्थल स्रोतले जनाएको छ। स्रोतका अनुसार हेलिकप्टर ओखलढुंगाको आकाशमाथि पुगेपछि युटर्न गरेर राजधानी फर्किएको थियो।
विमानस्थल स्रोतका अनुसार हेलिकप्टर फर्किनुमा मौसम प्रमुख कारण नभएको बताइएको छ। स्रोतका अनुसार त्यस समयमा काठमाडौँ फर्किनुपर्ने खालको खराब मौसम अवस्था थिएन, जसले गर्दा हेलिकप्टर किन फर्कियो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।
उता बालेनको सचिवालयले भने यसलाई सुरक्षा संवेदनशीलतासँग जोडेको छ। सुरक्षा निकायबाट झापा जाँदा सुरक्षा चुनौती बढ्न सक्ने जानकारी आएपछि यात्रा स्थगित गरिएको सचिवालयको दाबी छ।
तर जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भने आफूहरूले यस्तो कुनै आग्रह नगरेको स्पष्ट पारेकी छन्। उनका अनुसार झापामा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ र सुरक्षाका कारण कसैलाई नआउन आग्रह गरिएको छैन।
यसरी हेलिकप्टर उडान बीचमै फर्किएपछि बालेन झापा किन नपुगे भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। घटनाले भने चुनावी माहोलबीच नयाँ जिज्ञासा उत्पन्न गरेको छ।








