मतदानपछि केपी शर्मा ओलीले भने- फागुन २१ ‘पुनर्जीवन’ सम्झाउने दिन हाे
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्नो जीवनमा विशेष अर्थ बोकेको दिन भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो दिन आफ्नो जीवनका दुई महत्वपूर्ण संयोगसँग जोडिएको उल्लेख गरेका हुन् ।
ओलीका अनुसार फागुन २१ एकातिर सुखानी शहीद दिवसका रूपमा स्मरण गरिने दिन हो भने अर्कोतर्फ यही दिन छ वर्षअघि उनले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए । यी दुवै घटनाले आफूलाई मृत्युको मुखबाट फर्किएर पुनर्जीवन पाएको अनुभूति दिलाएको उनले बताएका छन् ।
ओलीले झापा आन्दोलनको स्मरण गर्दै निरंकुश व्यवस्थाविरुद्ध विद्रोहको बिगुल त्यही आन्दोलनबाट फुकेको उल्लेख गरेका छन् । सोही क्रममा आफूहरू पक्राउ परेको र झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको उनले बताएका छन्।
उनले आफू पनि सोही घटनाक्रममा मृत्युको मुखबाट जोगिएको र त्यसपछि १४ वर्ष कठोर कारावास भोग्नुपरेको स्मरण गरेका छन् ।
फागुन २१ लाई आफ्नो जीवनको अविस्मरणीय दिन भन्दै ओलीले लोकतन्त्रका लागि बलिदान दिने शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनका अनुसार फागुन २१ केवल स्मरणको दिन मात्र नभई संघर्ष, बलिदान र पुनर्जीवनको प्रतीकका रूपमा आफूले सधैँ सम्झिरहने दिन हो ।








