देशभर शान्तिपूर्ण मतदान : करिब ६० प्रतिशत मत खसेको आयोगको अनुमान
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर सम्पन्न मतदानमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।
मतदान सम्पन्न भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरि मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिए। उनले हाल विस्तृत विवरण सङ्कलन भइरहेको र केही स्थानमा मतदान प्रक्रिया अन्तिम चरणमा रहेको बताए।
भण्डारीका अनुसार छिटपुट घटनाबाहेक समग्रमा निर्वाचन वातावरण शान्तिपूर्ण रहेको छ। उनले भने, “विस्तृत विवरण सङ्कलन हुँदैछ। केही मतदान केन्द्रमा मतदान जारी रहेको जानकारी आएको छ। छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।”
निर्वाचन आयोगले मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि सम्बन्धित स्थानमै मतगणना प्रक्रिया सुरु गरिने जनाएको छ। दुर्गम र भौगोलिक रूपमा कठिन क्षेत्रहरूबाट मतपेटिका सङ्कलन गर्न विशेष व्यवस्था गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गरिनेछ। ती स्थानहरूमा सडक पहुँच कठिन भएकाले हवाई माध्यम प्रयोग गरी मतपेटिका सुरक्षित रूपमा संकलन गर्ने तयारी गरिएको हो।
निर्वाचन आयोगले मतगणनाको प्रक्रिया छिटो, पारदर्शी र व्यवस्थित ढङ्गले सञ्चालन गर्ने तयारी भइरहेको पनि जनाएको छ। साथै मतपरिणाम क्रमशः सार्वजनिक गरिने आयोगले जनाएको छ।








