दाङमा ५८.३३ प्रतिशत मतदान : तीनै क्षेत्रमा उत्साहजनक सहभागिता
दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ जिल्लामा करिब ५८.३३ प्रतिशत मतदान भएको छ। जिल्लाका तीनै निर्वाचन क्षेत्रमा मतदाताले उत्साहजनक सहभागिता जनाएका छन् ।
जिल्लामा कुल ४ लाख ३१ हजार ६८६ मतदातामध्ये २ लाख ५१ हजार ८१९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।
निर्वाचन क्षेत्रगत रूपमा हेर्दा दाङ क्षेत्र नं. १ मा कुल १ लाख ४० हजार १ मतदातामध्ये ८० हजार ९२० मत खसेको छ, जुन ५७.८० प्रतिशत हो ।
त्यस्तै दाङ क्षेत्र नं. २ मा १ लाख ४० हजार ९६५ मतदातामध्ये ८२ हजार ६२६ मत खसेको छ। यस क्षेत्रमा ५८.६१ प्रतिशत मतदान भएको छ ।
यसैगरी दाङ क्षेत्र नं. ३ मा कुल १ लाख ५० हजार ७२० मतदातामध्ये ८८ हजार २७३ मत खसेको छ, जुन ५८.५७ प्रतिशत हो।
तीनै क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अब मतपेटिका सङ्कलनपछि सम्बन्धित स्थानमै मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन अधिकारीहरूले बताएका छन् ।








