राजनीतिमा नयाँ समीकरण : रास्वपाको अप्रत्याशित सफलता
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक परिणामले नेपाली राजनीतिमा ठूलो शक्ति सन्तुलन परिवर्तनको संकेत गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा उल्लेखनीय मत प्राप्त गर्दै नयाँ राजनीतिक शक्ति रूपमा उदाएको छ ।
अहिलेसम्मको मतगणनाअनुसार प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। यसमध्ये रास्वपाले १२४ सिट जित्दै स्पष्ट बहुमततर्फ अग्रसर देखिएको छ ।
बाँकी एक क्षेत्रमा पनि रास्वपा नै अग्रस्थानमा रहेको छ। यस परिणामले लामो समयदेखि नेपाली राजनीतिमा प्रभाव जमाइरहेका परम्परागत दलहरूको प्रभाव कमजोर हुँदै गएको संकेत गरेको विश्लेषण गरिएको छ ।
समानुपातिकतर्फ पनि रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको छ। हालसम्मको गणनाअनुसार पार्टीले ३६ लाख ५० हजार २१ मत प्राप्त गरेको छ। यसले प्रत्यक्ष प्रणालीमा मात्र होइन, जनमतको व्यापक आधार पनि रास्वपाको पक्षमा रहेको देखाएको छ।
दोस्रो ठूलो दल बन्ने देखिएको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ सिटमा मात्र जित हासिल गरेको छ। समानुपातिकतर्फ कांग्रेसले १२ लाख ३० हजार ३६२ मत पाएको छ ।
यस्तै, तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले प्रत्यक्षतर्फ आठ सिट जितेको छ भने एक क्षेत्रमा अग्रता कायम राखेको छ। समानुपातिकतर्फ एमालेले १० लाख ४० हजार १६८ मत प्राप्त गरेको छ।
अन्य दलहरू भने सीमित उपस्थितिमा सीमित देखिएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ सात सिट जित्दा समानुपातिकमा ५ लाख ३४ हजार १५६ मत प्राप्त गरेको छ। हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकमा दुई लाख ३९ हजार ७२ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकमा दुई लाख ५७ हजार ६ मत प्राप्त गरेको छ। हालसम्मको मतपरिणाम हेर्दा राप्रपा र श्रम संस्कृति पार्टीले मात्र समानुपातिक प्रणालीमा तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने सम्भावना देखिएको छ। अन्य दलका लागि भने थ्रेसहोल्ड पार गर्न कठिन देखिएको छ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको अन्तिम परिणाम आज दिउँसोसम्म सार्वजनिक गरिनेछ। समानुपातिकतर्फको अन्तिम मतपरिणाम भने मंगलबारसम्ममा सार्वजनिक गर्ने तयारी आयोगले जनाएको छ।
यस पटकको निर्वाचन परिणामले नयाँ राजनीतिक शक्ति उदाएको र मतदाताले परम्परागत दलहरूलाई स्पष्ट सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।








