२८ फाल्गुन २०८२, बिहिबार

समानुपातिक मत : नयाँ दलहरूको उदयसँगै परम्परागत शक्तिमा गिरावट

प्रकाशित मिति :  12 March, 2026 7:00 am


काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फको मतगणना सकिँदा नेपाली राजनीतिमा नयाँ शक्ति उदाउँदै गएको संकेत देखिएको छ ।

यस पटकको निर्वाचन परिणामले परम्परागत रूपमा शक्तिशाली मानिएका दलहरूको प्रभाव घट्दै गएको स्पष्ट पारेको छ ।निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ५२ हजार ७५८ मत हासिल गरेको छ । यद्यपि यी दुवै दल अघिल्लो निर्वाचनको तुलनामा मतमा उल्लेख्य गिरावटसँग सामना गर्न पुगेका छन् ।

यसैबीच नयाँ र वैकल्पिक शक्तिका रूपमा उभिएका दलहरूले भने उल्लेखनीय मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७ मत प्राप्त गरेको छ ।

त्यसैगरी श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत प्राप्त गरेका छन् । यी दलहरूले प्राप्त गरेको मतले नेपाली मतदातामा नयाँ राजनीतिक विकल्पप्रति आकर्षण बढ्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ ।

२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको नेकपा एमालेको मत यसपटक झन्डै आधाले घटेको छ। अघिल्लो निर्वाचनमा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको थियो भने यसपटक १४ लाख ५२ हजार ७५८ मत मात्र प्राप्त गरेको छ । यस हिसाबले एमालेको समानुपातिक मत १३ लाख ९२ हजार ८८३ ले घटेको देखिन्छ।

नेपाली कांग्रेसको मतमा पनि उल्लेख्य गिरावट आएको छ। २०७९ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत पाएको थियो । तर यस पटक भने कांग्रेसले १७ लाख ५४ हजार ६९५ मत मात्र प्राप्त गरेको छ, जुन अघिल्लो चुनावको तुलनामा ९ लाख ६० हजार ५३० मतले कम हो ।

राजनीतिक विश्लेषकहरूका अनुसार मतदाताको प्राथमिकता परिवर्तन हुँदै जानु, नयाँ दलप्रति आकर्षण बढ्नु तथा परम्परागत दलप्रति असन्तुष्टि बढ्नु यस पटकको निर्वाचन परिणामको मुख्य कारणका रूपमा देखिएको छ । परिणामले आगामी राजनीतिक समीकरण र दलहरूको रणनीतिमा समेत महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !