सुर्खेत घटना : बालिका हत्यापछि न्यायको माग, समाजमा असुरक्षाबारे गम्भीर प्रश्न
दाङ । वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित सहिद उद्यान नजिकै रहेको जनजागरण सामुदायिक वनमा १६ वर्षिया बालिका इनिशा वि.क.को बलात्कारपछि हत्या भएको घटनाले कर्णाली प्रदेशमा महिला तथा बालिकाको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ ।
घटनापछि विभिन्न नागरिक समाज, मानवअधिकार तथा दलित अधिकारसँग सम्बन्धित संस्थाहरूले संयुक्त रूपमा आवाज उठाउँदै दोषीलाई कडा कारबाही गर्न र यस्ता अपराध रोक्न प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग गरेका छन् ।
संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त घटना अत्यन्तै अमानवीय, निन्दनीय र समाजलाई स्तब्ध बनाउने प्रकृतिको भएको उल्लेख गरिएको छ ।
उनीहरूले महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने भन्दै राज्यका निकाय, नागरिक समाज र आम नागरिकबीच समन्वय र सक्रियता बढाउनुपर्नेमा जोड दिएका छन् ।
विज्ञप्तिमा विशेषगरी महिला तथा बालबालिकामाथि हुने यौन हिंसा र अपराध रोकथामका लागि सुरक्षा व्यवस्था बलियो बनाउन, निगरानी प्रणाली प्रभावकारी बनाउन तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम विस्तार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
यस घटनापछि प्रदेश सरकारसमेत सक्रिय भएको जनाएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जालमार्फत पीडित परिवारसँग भेटघाट गरी घटनाको निष्पक्ष र कानुनी ढङ्गले अनुसन्धान गरिने तथा दोषीलाई कानुनअनुसार कडा कारबाही गरिने विश्वास व्यक्त गरेका छन् । उनले प्रदेश सरकार पीडित परिवारलाई न्याय दिलाउन प्रतिबद्ध रहेको पनि बताएका छन् ।
उता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान तीव्र बनाएको जनाएको छ । प्रहरीका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
पक्राउ परेकाहरूविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।फरेन्सिक परीक्षणका लागि भेरी अस्पताल बाँकेका विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा शव परीक्षण गरेको थियो ।
प्रारम्भिक प्रतिवेदनअनुसार जबर्जस्ती करणीका क्रममा भएको गम्भीर शारीरिक चोट र अत्यधिक रक्तस्रावका कारण बालिकाको मृत्यु भएको उल्लेख गरिएको छ ।
घटनाले कर्णाली प्रदेशमा महिला तथा बालिकाको सुरक्षाबारे बहसलाई तीव्र बनाएको छ। स्थानीय अधिकारकर्मीहरूका अनुसार ग्रामीण तथा अर्धशहरी क्षेत्रमा महिला र किशोरीको सुरक्षाका लागि पर्याप्त संरचना, निगरानी र सचेतना अभाव देखिन्छ ।
उनीहरूले राज्यले दीर्घकालीन रूपमा सुरक्षा, शिक्षा र सामाजिक सचेतना कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिशा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी थिइन्। उनी उषा बालवाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन् ।
परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । त्यसपछि स्थानीयले बिहान करिब ९ बजे उनलाई जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला पारेका थिए। प्रदेश अस्पताल सुर्खेत पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस घटनाले समाजमा महिला तथा बालिकाको सुरक्षा सुनिश्चित गर्न राज्य र समुदाय दुवैले थप जिम्मेवारीका साथ कदम चाल्नुपर्ने आवश्यकता पुनः उजागर गरेको सरोकारवालाहरूको भनाइ छ ।








