२९ फाल्गुन २०८२, शुक्रबार

अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउने प्रक्रिया तीव्र

प्रकाशित मिति :  13 March, 2026 8:57 am


काठमाडाैँ । पश्चिम एसियामा अचानक उडान बन्द भएपछि त्यहाँ अलपत्र परेका नेपालीहरूलाई सरकारले उद्धार उडानमार्फत स्वदेश फर्काउने प्रक्रिया तीव्र बनाएको छ ।

पछिल्ला केही दिनमा मात्रै सयौँ नेपाली सुरक्षित रूपमा नेपाल फर्किएका छन् भने अझै थप उद्धार उडान सञ्चालन गर्ने तयारी गरिएको छ ।

सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले सञ्चालन गरेको विशेष उडानमार्फत बिहीबार दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई काठमाडौँ ल्याइएको छ । विदेशमा रोकिएर घर फर्किने प्रतीक्षामा रहेका नेपालीका लागि यो उडान निकै राहतपूर्ण बनेको छ ।

निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार सोही विमानले काठमाडौंबाट २६० जना यात्रुलाई दुबई पुर्‍याएको थियो। नियमित उडान बन्द भएपछि नेपाल आउन नपाएका तथा नेपाल फर्किन चाहने यात्रुहरूका लागि यस्तो उद्धार उडानले वैकल्पिक व्यवस्था मिलाएको हो ।

निगमले उद्धार अभियानलाई निरन्तरता दिने जनाएको छ । शुक्रबार पनि निगमको विमान २६७ जना यात्रु लिएर काठमाडौंबाट दुबई जाने तयारीमा रहेको छ । सोही विमानले त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश फर्काउने योजना बनाइएको छ।

फागुन १६ गतेदेखि पश्चिम एसियाली आकाशमा उडान निषेध लागू भएपछि धेरै नेपाली यात्रु विभिन्न विमानस्थलमा रोकिएका थिए ।

अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हवाई आक्रमण गरेपछि क्षेत्रीय सुरक्षा अवस्था अस्थिर बनेको भन्दै धेरै मुलुकले हवाई उडान स्थगित गरेका थिए ।

यस अवस्थाले विदेशमा रहेका नेपाली श्रमिक र यात्रुहरूलाई विशेष रूपमा प्रभावित बनाएको छ । सरकारले परिस्थितिको निगरानी गर्दै आवश्यक परे थप उद्धार उडान सञ्चालन गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !