एमाले अध्यक्ष ओली पितृ शोकमा
काठमाडौँ । राजनीतिक जीवनमा सक्रिय रहँदै आएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला व्यक्तिगत शोकमा परेका छन् । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएपछि परिवार शोकमा डुबेको छ ।
परिवार स्रोतका अनुसार केही दिनयता अस्वस्थ रहेका मोहनप्रसाद ओलीको बिहीबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो जीवन बिताएका उनले आफ्नो पछाडि ठूलो परिवार र सम्झनाहरू छाडेका छन् ।
एमाले नेतृ पद्मा अर्यालले सामाजिक सञ्जालमार्फत ओलीका बुवाको निधन भएको जानकारी दिएकी हुन् । निधनको खबर सार्वजनिक भएपछि विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले ओलीप्रति समवेदना व्यक्त गर्न थालेका छन् ।
परिवार स्रोतका अनुसार मोहनप्रसाद ओलीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा राखिनेछ। त्यसपछि दिउँसो काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ ।
नेपाली राजनीतिमा लामो समय सक्रिय रहेका ओली यतिबेला पारिवारिक शोकका कारण सार्वजनिक कार्यक्रमहरूबाट केही समय टाढा रहने सम्भावना रहेको निकट स्रोतले जनाएको छ।








