२९ फाल्गुन २०८२, शुक्रबार
राप्ती गाउँपालिकाको स्थापना दिवस

देविकोट दर्शन दौड : पुरुषतर्फ अर्जुन बुढा र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम

प्रकाशित मिति :  13 March, 2026 4:57 pm


लक्ष्मी पाेखरेल,
देउखुरी ।
राप्ती गाउँपालिकाको स्थापना दिवसका अवसरमा आयोजित ‘देविकोट दर्शन दौड’ अन्तर्गतको प्रथम खुला पुरुष तथा महिला क्रस कन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएका छन् ।

प्रतियोगितामा अर्जुन बुढाले २५ मिनेट ४४ दशमलव ७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे । जुम्लाका चन्द्र रावत ३४ मिनेट ४१ दशमलव ६ सेकेन्डका साथ दोस्रो तथा जुम्लाकै युवराज बुढा ३६ मिनेट ५१ दशमलव ९ सेकेन्डमा तेस्रो स्थानमा रहे ।

त्यस्तै तुलसीपुरका विशालकुमार महत ४० मिनेट ०४ दशमलव २ सेकेन्डमा चौथो, गोरखा का सञ्जय श्रेष्ठ ४१ मिनेट १७ दशमलव ३ सेकेन्डमा पाँचौँ र दार्चुलाका अक्कल पाल ४१ मिनेट १७ दशमलव ५ सेकेन्डमा छैटौँ स्थानमा रहे ।

महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपानेले ४८ मिनेट ०३ दशमलव ०१ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन्। कर्णालीकै कल्पना बुढा ५० मिनेट ३९ दशमलव ०३ सेकेन्डमा दोस्रो तथा जुम्लाकी सन्देवा बुढा ५२ मिनेट २४ दशमलव २ सेकेन्डका साथ तेस्रो स्थानमा रहिन्।

यसैगरी जुम्लाकी सुन्तली पाण्डे ५८ मिनेट १८ दशमलव १ सेकेन्डमा चौथो, सुदूरपश्चिम प्रदेश की सरस्वती भट्टराई ५८ मिनेट ०६ दशमलव ४ सेकेन्डमा पाँचौँ र जुम्लाकी अन्तिममा बुढा ५९ मिनेट २१ दशमलव ६ सेकेन्डमा छैटौँ स्थानमा रहेकी थिइन्।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुनेलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको उद्घाटन चेतनारायण आचार्यले गरेका थिए ।

उक्त अवसरमा बाेल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल, धार्मिक तथा सांस्कृतिक पर्यटनलाई एकसाथ जोडेर स्थानीय अर्थतन्त्र सुदृढ बनाउने रणनीतिमा प्रदेश सरकार अघि बढिरहेको बताएका छन् ।

राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रबार देविकोटमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए ।

उनले धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण देविकोट क्षेत्रमा पर्यटक आगमन बढाउन सडक, मन्दिर संरक्षण तथा अन्य आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।

“यो ठाउँको महिमा धेरै छ। स्वस्थानी व्रत कथासँग जोडिएको पवित्र स्थल भएकाले यहाँ पर्यटकको आकर्षण बढाउन सकिन्छ,” उनले भने, “देविकोटसम्म पुग्ने सडकलाई वर्षैभरि सञ्चालनयोग्य बनाउन बहुवर्षीय योजनाअन्तर्गत काम अघि बढाइनेछ । साथै मन्दिरको जीर्णोद्धार र संरक्षणमा पनि प्रदेश सरकारले सहयोग गर्नेछ ।”

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै विकासका कामलाई तीव्रता दिइने बताए ।

उनले कार्यसम्पादनका आधारमा राप्ती गाउँपालिका देश तथा जिल्लामै उत्कृष्ट स्थानमा रहेको दाबी गर्दै यस उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले खेल क्षेत्रलाई पर्यटनसँग जोडेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

युवाहरूको चाहनाअनुसार खेल पूर्वाधार निर्माण, खेल सामग्री व्यवस्थापन र दक्ष खेलाडी उत्पादनका लागि प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइएको उनले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजीत थारुले प्रदेश सरकार गठनपछि दुर्गम बस्तीहरूमा आधारभूत विकासका पूर्वाधार विस्तार भएको उल्लेख गरे ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यनन्द शर्मा, गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीलगायतले पनि कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विश्वास विश्वकर्माले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !