३० फाल्गुन २०८२, शनिबार

सरकार गठनअघि रास्वपाभित्र शक्ति सन्तुलनको कसरत

प्रकाशित मिति :  14 March, 2026 7:47 am


काठमाडाैँ । अभूतपूर्व बहुमतसहित सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व र शक्ति सन्तुलनको कसरत तीव्र भएको छ ।

प्रधानमन्त्रीका रूपमा अघि बढिरहेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ र पार्टी सभापति रवि लामिछानेबीच सरकार निर्माणको मोडालिटीबारे आन्तरिक छलफल जारी छ ।

रास्वपा नेतृत्वले मन्त्री छनोटदेखि मन्त्रिपरिषद्को आकारसम्मका विषयमा आन्तरिक गृहकार्य गरिरहेको छ । यही क्रममा बालेनले बिहीबार राति अस्वस्थ रहेका सभापति रवि लामिछानेलाई उनको निवासमै पुगेर भेट गरेका थिए ।

स्रोतका अनुसार उनीहरूबीच एक्लाएक्लै भएको कुराकानी मुख्यतः सरकार गठन र शक्ति बाँडफाँटको विषयमा केन्द्रित थियो । बालेनले सानो आकारको, दक्षता र विज्ञताको आधारमा मन्त्री चयन हुने मन्त्रिपरिषद् बनाउने संकेत दिएका छन् । तर पार्टीभित्र भने मन्त्री बन्न इच्छुक नेताहरूको सूची बढ्दै जाँदा नेतृत्वबीच सहमति जुटाउन चुनौती देखिएको छ।

किन उठ्यो विधान संशोधनको विषय ?

रास्वपाको विद्यमान विधानअनुसार संसदीय दलको नेता चयन गर्दा पार्टीका सबै साधारण सदस्य मतदाता हुने व्यवस्था छ । विधानको धारा ६६ अनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रकारका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारहरूबीच निर्वाचन हुने प्रावधान छ ।

तर सरकार गठनअघि दलको नेता चयन प्रक्रिया जटिल हुन सक्ने भएकाले यो व्यवस्था संशोधन गर्ने विषय उठाइएको छ ।राजनीतिक विश्लेषकहरूका अनुसार दलको नेता चयन प्रक्रिया सरल बनाउने उद्देश्यले विधान संशोधनको एजेन्डा अघि ल्याइएको हुन सक्छ ।

मन्त्री छनोटमा बढ्दो रस्साकस्सी

प्रधानमन्त्री बन्ने सम्भावना बढेपछि बालेनले करिब १५–१६ सदस्यीय मन्त्रिपरिषद् बनाउने सोच बनाएको बताइन्छ । उनले दक्षता र क्षमताको आधारमा मन्त्री छनोट गर्नुपर्ने अडान राखेका छन् ।

तर पार्टी सभापति रवि लामिछानेले पनि आफ्ना निकट नेताहरूलाई सरकारमा समेट्नुपर्ने धारणा राखेपछि मन्त्री चयनको प्रक्रिया पेचिलो बन्न थालेको छ ।

सरकारमा सम्भावित रूपमा चर्चा गरिएका केही नामहरूमा डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, सस्मित पोखरेल, सोविता गौतम, अमरेशकुमार सिंह र शिशिर खनाल रहेका छन् ।

सरकार गठनसँगै नेतृत्वको सन्तुलन परीक्षण

राजनीतिक वृत्तमा रास्वपाको आगामी सरकारलाई नेतृत्वको सन्तुलन परीक्षणका रूपमा पनि हेरिएको छ। एकातिर प्रशासनिक अनुभव र व्यवस्थापन शैलीका लागि परिचित बालेन छन् भने अर्कोतिर पार्टी संगठन र राजनीतिक रणनीतिमा प्रभावशाली मानिएका रवि लामिछाने।

यही सन्तुलन मिलाउँदै सरकार गठन गर्नुपर्ने चुनौती रास्वपाका लागि अहिलेको सबैभन्दा ठूलो राजनीतिक परीक्षा बन्ने देखिएको छ।



प्रतिक्रिया दिनुहोस !