३० फाल्गुन २०८२, शनिबार

रास्वपाकाे सचिवालयको बैठक आज बस्दै

प्रकाशित मिति :  14 March, 2026 7:53 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व संरचना र भविष्यको राजनीतिक रणनीतिबारे बहस सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने तयारीका बीच पार्टीले विधान संशोधनको विषयलाई पनि एजेन्डामा ल्याएको छ ।

पार्टी सचिवालयको बैठक आज बस्ने तयारी गरिएको छ । सभापति रवि लामिछानेको निर्देशनअनुसार बोलाइएको बैठकमा समानुपातिक उम्मेदवार सिफारिसका साथै पार्टीको संरचनात्मक र राजनीतिक रणनीतिसम्बन्धी विषयमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको समय र स्थान भने अझै तय भइसकेको छैन ।

बैठकमा विशेषगरी पार्टी विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने बताइएको छ । स्रोतका अनुसार आगामी राजनीतिक समीकरण र सम्भावित नेतृत्वको विकल्प खुला राख्ने उद्देश्यले विधान परिमार्जनबारे बहस हुन लागेको हो ।

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका प्रमुख तथा वरिष्ठ नेता बालेन शाहलाई भविष्यमा प्रधानमन्त्रीको रूपमा अघि सार्ने सम्भावनाबारे पनि पार्टीभित्र चर्चा सुरु भएको बताइन्छ । यसका लागि पार्टीको विद्यमान संरचना र प्रक्रियामा परिवर्तन आवश्यक पर्ने भएकाले विधान संशोधनको विषय बैठकको मुख्य एजेन्डा बन्ने देखिएको छ ।

रास्वपाले हाल समानुपातिक उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाइरहेको अवस्थामा नेतृत्व, रणनीति र राजनीतिक विस्तारका विषयलाई एकसाथ उठाउन थालेको विश्लेषकहरू बताउँछन् ।

यसअघि पनि रास्वपाले संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिक नेतृत्व निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न संरचनागत सुधारका विषय उठाउँदै आएको छ । आजको बैठकले पार्टीको आगामी रणनीति र नेतृत्वसम्बन्धी संकेत दिन सक्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !