समानुपातिक सूची टुङ्ग्याउन एमालेको सचिवालय बैठक बस्दै
काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सरकार गठन र संसद् शक्ति सन्तुलनका विषयले राजनीतिक दलहरूबीच सक्रियता बढिरहेका बेला नेकपा (एमाले)ले समानुपातिक सांसद चयनलाई अन्तिम रूप दिन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ।
भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो १ बजे बस्ने बैठकले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पठाइने सांसदहरूको नाम टुङ्गो लगाउनेछ । बैठकमा हालै सम्पन्न निर्वाचनको समग्र समीक्षा तथा आगामी राजनीतिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकले समानुपातिक सूचीलाई अन्तिम रूप दिनुका साथै निर्वाचन परिणामको विश्लेषण गर्नेछ ।
समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गराउने व्यक्तिहरू चयन गर्दा दलभित्र क्षेत्रीय सन्तुलन, समुदायको प्रतिनिधित्व तथा पार्टीको आन्तरिक समीकरणलाई समेत ध्यान दिइने जनाइएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न आजै राजनीतिक दललाई समयसीमा तोकेपछि एमालेभित्र निर्णय प्रक्रियालाई तीव्र बनाइएको हो ।
राजनीतिक वृत्तमा समानुपातिक सूचीले पार्टीभित्रको शक्ति सन्तुलन, नेतृत्वप्रति निष्ठा तथा विभिन्न समूहको प्रतिनिधित्वलाई कसरी समेट्छ भन्ने विषयमा चासो बढेको छ । यसै कारण आजको सचिवालय बैठकलाई एमालेभित्रको आन्तरिक समीकरण स्पष्ट पार्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।








