३० फाल्गुन २०८२, शनिबार

रास्वपाको आजकाे सचिवालय बैठक आइतबार सारियो

प्रकाशित मिति :  14 March, 2026 12:39 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिसबारे अन्तिम निर्णय गर्न सचिवालय बैठक आइतबारका लागि सारिएको जनाएको छ ।

यसअघि शनिबार बस्ने भनिएको बैठक अब आइतबार बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी तय गरिएको पार्टीले जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार सभापति रवि लामिछानेको निर्देशनमा बैठकको समय परिवर्तन गरिएको हो ।

सचिवालय बैठकमा मुख्य रूपमा प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस हुने उम्मेदवारको सूचीबारे छलफल हुने एजेन्डा तय गरिएको छ ।

रास्वपाले हालै सम्पन्न निर्वाचनपछि समानुपातिक प्रणालीमार्फत संसदमा जाने नेताहरूको टुंगो लगाउने तयारी गरिरहेको छ । सचिवालय बैठकले उम्मेदवार सिफारिसको प्रारम्भिक सूचीलाई अन्तिम रूप दिन सक्ने अपेक्षा गरिएको छ ।

पार्टी स्रोतका अनुसार समानुपातिकतर्फ समावेशी प्रतिनिधित्व, दलभित्रको योगदान र राजनीतिक सन्तुलनलाई आधार बनाएर नाम छनोट गर्ने विषयमा छलफल भइरहेको छ ।

यस बैठकलाई रास्वपाको आगामी संसदीय रणनीति तय गर्ने दृष्टिले पनि महत्वपूर्ण मानिएको छ, किनकि समानुपातिकतर्फ चयन हुने सांसदहरूले संसदमा पार्टीको उपस्थिति र नीति बहसलाई प्रभाव पार्नेछन् ।



प्रतिक्रिया दिनुहोस !